हरिवनमा वीङ्गरको ठक्करबाट छठका व्रतालुको मृत्यु

हरिवन नगरपालिका–९, नोचामा सोमबार बिहान वीङ्गरको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।

नोचास्थित छठघाटमा छठपूजा गरेर घर फर्किदै गरेकी सोही ठाउँकी ५२ वर्षीया लक्ष्मी पोखरेलको दुर्घटनामा ज्यान गएको हो । लालबन्दीबाट यात्रु लिन हरिवनकै नयाँरोडतर्फ गइरहेको मधेश प्रदेश–०३–००१ ज ०३४२ नम्वरको वीङ्गरले बिहान ७ बजेतिर ठक्कर दिँदा गम्भीर घाइते भएका पोखरेललाई उपचारका लागि स्वाभिमान अस्पताल हरिवन ल्याइयो । त्यहाँ ल्याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरे ।

गाडीको ठक्करबाट छठघाटस्थलमा सडक सुरक्षार्थ खटिएका एक ट्राफिक हवल्दार समेत घाइते भएका छन् । ट्राफिक प्रहरी पोष्ट हरिवनमा कार्यरत ट्राफिक प्रहरी हवल्दार सुवोध कुमार यादव घाइते भएका हुन् ।

बाँया खुट्टामा चोट लागेर घाइते भएका ट्राफिक प्रहरी हवल्दार यादवलाई हरिवनमा सामान्य उपचारपश्चात लालगढ अस्पताल, धनुषा रेफर गरिएको हरिवन प्रहरीले जनायो ।

उक्त वीङ्गरले सडक छेउमा रोकिराखेको बागमती प्रदेश–०२–०३८ प ०३११ नम्वरको मोटरसाइकललाई समेत ठक्कर दिएर क्षति पुर्याएको छ । दुर्घटनामा संलग्न वीङ्गर र त्यसका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले बताए ।

प्रतिक्रिया