सर्लाही प्रहरीले दुई दिनको अवधिमा पौने ४ लाख रुपियाँ बराबरको अवैध सामाग्री बरामद गरेको छ ।

मलंगवा –  जिल्ला प्रहरी कार्यालय र मातहतका युनिटबाट खटिएको गस्ती टोलीले भारतबाट भन्सार छली गरी ल्याइएको ३ लाख ७३ हजार ६०० रुपियाँ बराबरको अवैध सामग्री बरामद गरेको हो ।

सर्लाही प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पन्जियार थारुले हिजो र आज गरी दुई दिनमा सो मूल्य बराबरको अवैध सामग्री बरामद गरिएको जानकारी दिए । भारतबाट भन्सार छलेर ल्याउँदै गरिएको ४१५ केजी चिनी, ६० लिटर खानेतेलसहित साबुन, सरफ, बत्ती, कपडालगायतका सामग्री बरामद गरी जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाइएको जनाएको छ ।

यसअघि आइतबार कविलासीको सलेमपुरबाट बरामद गरिएको लागूऔषध गाँजा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सर्लाही प्रहरीले असोज २८ गते घटस्थापनादेखि कात्तिक ११ गतेसम्म जिल्लाका विभिन्न नाकाबाट ३३ लाख ७१ हजार २० रुपियाँ बराबरको अवैध सामग्री बरामद गरेको जानकारी गराएको थियो ।

प्रतिक्रिया