युवतीकाे शंकास्पद मृत्यु शव खाल्डोबाट निकालेर पोष्टमार्टमका लागी मलंगवा लगियो ।

हरिवन नगरपालिका–११, बालगंगामा रहेको मुस्लिम बस्तीमा एक हप्ताअघि खाल्डोमा गाडिएको युवतीको शव आज (आइतबार) प्रहरीले खाल्डोबाट निकालेर पोष्टमार्टम गर्न अस्पताल लगेको छ ।

युवतीको मृत्यु शंकास्पद देखिएपछि प्रहरीले खाल्डोबाट शव निकालेर परीक्षणका लागि मलंगवास्थित प्रादेशिक अस्पताल पुर्याएको हो । सोही ठाउँकी १७ वर्षीया तबसुन खातुनको गएको कात्तिक २६ गते भएको मृत्यु शंकास्पद देखिएको प्रहरी बताउँछ ।

सर्लाहीका प्रहरी उपरीक्षक प्रवीण धितालले अहिलेसम्मको अनुसन्धानमा खातुनको मृत्यु शंकास्पद देखिएपछि गाडिएको शव उत्खनन गरी परीक्षणका लागि अस्पताल लगिएको बताए । परिवारका सदस्यले पेट दुःखेर मृत्यु भयो भनेका तर आफूहरुलाई यो कुरामा शंका रहेको उनले बताए । “पोष्टमार्टम रिपोर्ट आएपछि प्राकृतिक मृत्यु वा हत्या के हो ? त्यो प्रष्ट भइनै हाल्छ,” एसपी धितालले भने ।

आइतबार बिहान धार्मिक अगुवा तथा स्थानीय समेतलाई सम्झाइबुझाई गरी प्रहरीले खातुनको शव मुस्लिम समुदायको दाहसँस्कार गर्ने ठाउँ (कब्रस्थान) को खाल्डोबाट निकालेर परीक्षणका लागि सदरमुकाम मलंगवा लगेको हो । प्रहरीले शनिबार नै शव निकाल्ने प्रयास गरेको थियो ।

प्रादेशिक अस्पतालमा हुने पोष्टमार्टमबाट आत्महत्यासम्मको रिपोर्ट आउने र यदि अस्पतालमा परीक्षण गर्दा आत्महत्या जस्तो नदेखिए भिसेरा परीक्षणका लागि मुटु, कलेजो र फोक्सोको टुक्रा काठमाडौँ पठाइने प्रहरी उपरीक्षक धितालको भनाई छ । प्रहरीले यस घटनाको अनुसन्धानका लागि मृतक युवतीकी सौतेनी आमा ४५ वर्षीया सकिना खातुनसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखी अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक धितालको भनाई छ ।

मृतक खातुनका बुवा सेख इर्साद र सौतेनी आमाकी पहिलेका श्रीमानतर्फको छोरा सेख चाँद फरार रहेका छन् । प्रहरीले बाबु र छोरा दुवैको खोजी जारी रहेको जनाएका छन्न ।

प्रतिक्रिया