बानियाँको नाम समाचारमा जोडिएकामा कांग्रेसको आपत्ति

नेपाली कांग्रेसले केही सञ्चारमाध्यमले ‘जुवा खालबाट पक्राउ’ सम्बन्धी समाचारमा बिनाआधार पूर्वगृहराज्यमन्त्री एवम पार्टीका नेता इन्द्रबहादुर बानियाँको नाम उल्लेख गरेको भन्दै आपत्ति जनाएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी सत्यतथ्य नबुझी कुनै पनि व्यक्तिको इज्जत प्रतिष्ठामा आँच आउने गरी समाचारमा नाम उल्लेख गर्नु दुःखद् भएकाे बताउनुभयो । साथै उहाँले तथ्यमा आधारित भएर समाचार प्रकाशन गर्न आग्रह गर्नुभयो ।

प्रवक्ता शर्माले यस्ता घटनाको कानूनी उपचारमा नजाने भए पनि सम्बन्धित व्यक्ति कानूनी उपचारमा जाने विषयलाई भने पार्टीले सकारात्मक रूपमा लिने बताउनुभयो ।

पत्रकार सम्मेलनमा प्रदेश नम्बर ३ को प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहनुभएका बानियाँले सत्यतथ्य नबुझी समाचारमा नाम उल्लेख गर्दा आफ्नो चरित्रहत्या गर्ने काम भएको बताउनुभयो ।

समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उहाँले कुनै सञ्चारमाध्यमको गल्ती र कमजोरीका कारण सम्पूर्ण सञ्चारजगत्ले नै विश्वास गुमाउने अवस्था सिर्जना हुने बताउनुभयो । नेता बानियाँले सम्बन्धित सञ्चारमाध्यमलाई गल्ती सच्याउन आग्रह गर्दै अन्य सञ्चारमाध्यमले समेत सत्यतथ्य नबुझी सो समाचार नक्कल गरेकामा दुःख व्यक्त गर्नुभयो ।

प्रतिक्रिया