शुभद्रा पाण्डे सर्लाही,
कोभिड १९ को बारेमा सचेतनामूलक कार्यक्रम सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नं. ८ स्थित शिवचौकमा आज पौष २५ गते सम्पन्न भएको छ ।
डब्ल्यूपिडी नेपाल (शान्ति र प्रजातन्त्रका लागि महिला) को आयोजनामा भएको उक्त कार्यक्रममा जनजागृति बहुउद्देश्यीय महिला कृषक समूहका सदस्यहरुको सहभागिता रहेको थियो । कोभिड १९ को बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमको सहजीकरण मनोसामाजिक मनोविमर्शकर्ता कुमार भण्डारीले गर्नुभएको थियो ।
कृषक समूहका अध्यक्ष सुभद्रा दाहालको अध्यक्षता एवं बागमती सेवा समाज नेपालका अध्यक्ष श्री भरत कुमार कार्कीको विशेष उपस्थितिमा आयोजना गरिएको उक्त कार्यक्रममा कोभिड १९ को बारेमा जानकारी, यसले पारेको प्रभाव र अपनाउनु पर्ने सावधानीका बारेमा सहभागीहरुलाई जानकारी गराइएको थियो ।
यसैगरी व्यक्तिगत सरसफाईमा ध्यान दिने, साबुन पानीले मिचीमिची हात धुने, घर बाहिर निस्कँदा मास्क लगाउने, सेनिटाइजरको प्रयोग गर्ने, भिडभाडमा नजाने आदि बारेमा समेत जानकारी दिइएको आयोजक संस्थाले बताएको छ ।
सरकारी तवरबाट कोभिड १९ सम्बन्धी गतिविधिहरु शुन्यप्रायः भएको अवस्थामा सर्वसाधारणलाई यसका बारेमा जानकारी दिने र सचेत गराउने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा विशेष गरी महिला र बालबालिकाले अहिलेको अवस्थामा भोग्नु परेका कठिनाई, महिला हिंसाको अवस्था आदिका बारेमा समेत छलफल गरिएको कार्यक्रमको अध्यक्ष सुभद्रा दाहालले बताउनुभयो ।
उक्त सचेतनामूलक कार्यक्रममा समूहका ३५ जना महिलाहरुको सहभागिता रहेको थियो ।