रुपेश राज पाण्डे, नयाँरोड
पूर्व पश्चिम राजमार्गस्थित सर्लाहीको हरिवन नगरपालिका–१०, नयाँरोडमा आज (शनिबार) दिउँसो शंकास्पद अवस्थामा फेला परेको बोराभित्र लागूऔषध रहेको पाइएको छ । नयाँरोडस्थित पश्चिम बसपार्कको बस्ने बेन्चमाथि मुख बाँधिएको अवस्थामा सिमेन्टको बोरा फेला परेको थियो ।
शंकास्पद अवस्थामा फेला परेको उक्त वस्तु जोखिमयुक्त हुनसक्ने आशंकामा प्रहरीले घटनास्थल सुरक्षित गरी थप अनुसन्धानका लागि नेपाली सेना बोलायो ।
भैरवीदल गण पाँचकुमारी ब्यारेकबाट सेनाको टोली पुगेर हेर्दा उक्त बोराभित्र चामल रहेको र चामलभित्र लागूऔषध कोरेक्स लुकाएको फेला परेको हो । चामलभित्र लुकाएको अवस्थामा एक सय एमएलको ११४ बोतल वीन सिरेक्स कफ सिरफ बरामद भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले जानकारी दिनुभयो ।
ब्यस्त चोकमा बेवारिसे अवस्थामा शंकास्पद झोला फेला परेपछि त्यसभित्र रहको बस्तु पत्ता लगाउन सेना नै बोलाएर चेकजाँच तथा अनुसन्धान गर्दा सुरक्षाकर्मी करिव ३ घण्टा हैरान भए । सो बोरा फेला परेपछि प्रहरीले पूर्व-पश्चिम राजमार्गमा मानिस तथा सवारीको आवतजावत रोकेर भित्री सडकतर्फ ‘डाइभर्ट’ गरायो ।
प्रहरी निरीक्षक गिरीले बेवारिसे तथा शंकास्पद अवस्थामा फेला परेको सो बोरा आफूखुसी चलाउँदा जोखिम हुने ठानेर नेपाली सेनालाई बोलाएर निष्क्रिय पार्ने प्रयास गरिएको बताए । उनले सो बोरा बसपार्कमा ल्याएर बेवारिसे अवस्थामा छाडी त्रास सिर्जना गर्ने व्यक्तिमाथि अनुसन्धान हुने बताएका छन् सो बोराभित्रको लागूऔषध कुनै लागूऔषध ओसारपसार गर्ने व्यक्तिले त्यहाँ छाडेर फरार भएको हुनसक्ने आशंका गरिएको छ ।