सर्लाही, साउन ९
सरसफाई र स्वास्थ्य नागरिकको मौलिक हक भएको बताउँदै हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईले हरिवन नगरपालिकालाई प्रदेश नं. २ को पहिलो पूर्ण सरसफाई उन्मुख स्थानीय तह बनाएर छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
बागमती सेवा समाज नेपालले ग्लोबल स्यानिटेशन फण्ड÷युएन ह्याविट्याटको सहयोगमा संचालन गरिरहेको पूर्ण सरसफाई परियोजनाको सहजीकरणमा साउन ९ गते हरिवन नगरपालिकामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले आफ्नो गाउँ ठाउँलाई सफा र स्वच्छ राख्नु सबै नागरिकको कर्तव्य भएको बताउनुभयो । “नगरलाई सफा, स्वच्छ, हरियाली, फोहोरमैला रहित र प्रदुषणरहित बनाउनु अहिलेको आवश्यकता हो ।” नगर प्रमुख प्रसाईले भन्नुभयो “यस कार्यका लागि आवश्यक बजेट विनियोजन गरी सरोकारवाला सबैसँग नगरपालिकाले हातेमालो गरेर अगाडि बढ्छ ।”
उक्त कार्यक्रममा बोल्दै बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्कीले सन् २०३० सम्म नेपाललाई पूर्ण सरसफाई उन्मुख देश बनाउने नेपाल सरकारले लिएको लक्ष्य अनुरुप नगरपालिकालाई सरसफाईमा सहयोग गर्नका लागि परियोजना संचालन गरिरहेको र यसमा सबै पक्षको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
सोही कार्यक्रममा नगरपालिका प्रमुख गणेश प्रसाद प्रसाईको अध्यक्षतामा १९ सदस्सीय हरिवन नगरपालिका स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता (वास) समन्वय समिति समेत पुनःर्गठन गरिएको छ ।
यसैगरी वडाध्यक्ष प्रल्हाद बुडाथोकीको संयोजकत्वमा खानेपानी, सरसफाई तथा स्वच्छता योजना निर्माण कार्यदल, वडाध्यक्ष शम्भु प्रसाद मैनालीको संयोजकत्वमा चर्पी सुधार कार्यदल, वडाध्यक्ष नेत्र प्रसाद मैनालीको संयोजकत्वमा फोहोरमैला व्यवस्थापन कार्यदल, वडाध्यक्ष यज्ञ विनोद ढुंगेलको संयोजकत्वमा वातावरणीय सरसफाई कार्यदल, कार्यपालिका सदस्य निसा उप्रेतीको संयोजकत्वमा महिनावारी स्वच्छता व्यवस्थापन कार्यदल र वडाध्यक्ष नेत्र प्रसाद मैनालीको संयोजकत्वमा विपद् व्यवस्थापन कार्यदल समेत गठन गरिएको छ ।
सोही अवसरमा नगरपालिका क्षेत्रभित्र खाद्य पदार्थको गुणस्तर कायम गर्न समेत अनुगमन गर्नु आवश्यक भएकोले वडाध्यक्ष शेख मेहवुव रेजाको संयोजकत्वमा ५ सदस्सीय खाद्य स्वच्छता अनुगमन समिति गठन गरिएको छ ।
पुनःर्गठन गरिएका कार्यदल, उपसमितिहरुको नियमित बैठक बस्ने, वडाभित्र सरसफाईको अवस्था कस्तो छ भनी अनुगमन गर्ने र कार्ययोजना बनाएर पूर्ण सरसफाईका सूचकहरु पुरा गराउन क्रियाशील भएर लाग्ने कुरा हरिवन नगरपालिका वडा नं. १० का अध्यक्ष एवं चर्पी सुधार कार्यदलका संयोजक शम्भु प्रसाद मैनालीले बताउनुभयो ।
परियोजनाको सहजीकरणमा हरिवन नगरपालिकाको ५ वर्षे खानेपानी, सरसफाई तथा स्वच्छता योजना निर्माण गर्ने र सो कार्यका लागि आवश्यक तथ्यांक संकलनको काम पुरा भइसकेको कुरा पूर्ण सरसफाई कार्यक्रम संयोजक कुमार भण्डारीले जानकारी दिनुभयो ।