भीडभाड कम गर्ने पालिकाहरुको प्रयास

बरहथवा – सर्लाहीको दक्षिण–पश्चिम भेगको ठूलो बजार बरहथवामा खाद्यान्न पसल व्यवसाय पनि आज (शुक्रवार) बाट बन्द गरिएको छ ।
निरन्तरको लकडाउनले जनजीवन प्रभावित भएको र नागरिकले चामल, दाल, नुन तेल समेत किन्न नपाएको भन्दै नगरपालिकाले निर्णय नै गरेर केही दिनअघिबाट बिहान केही घण्टा खाद्यान्न पसल खोल्न अनुमति दिएको थियो । तर खाद्यान्न पसलको आडमा अन्य पसल व्यवसाय समेत खोलेर भीडभाड गर्न थालेपछि अब बजारलाई नै पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरिएको हो ।
बिहिवार साँझ अबेरसम्म भएको सर्वपक्षिय छलफलबाट औषधि पसल, ग्याँस डिपो र पेट्रोल पम्प बाहेक अन्य सबै पसल व्यवसाय बन्द गर्ने निर्णय भएको बरहथवाका नगरप्रमुख देवानन्द महतोले जानकारी दिए । पछिल्लो समय कोरोना भाईरसका संक्रमित बढ्दै गएपछि स्थानीय प्रशासन, पालिका तथा अन्य निकायले भीडभाड कम गराउने, लकडाउनको कार्यान्वयन गर्ने जस्ता कार्यमा जोड दिन थालेका छन् ।
तर बजार क्षेत्रमा भीडभाड भने कम भएको छैन् । यस्तै हाईवेमा पर्ने सर्लाहीको प्रमुख बजार लालबन्दीका बैंकहरु अब हप्तामा दुई दिन मात्रै खुल्ने भएका छन् । नगरभित्रका बैंकका प्रतिनिधि र नगरपालिकाका पदाधिकारीहरुबीच हिजो बिहिवार भएको छलफलबाट अत्यावश्यक कामका लागि हप्तामा दुई दिन आइतवार र बुधवार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म बैंकहरु सञ्चालन गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वासुदेव तिमल्सिनाले बताए ।

मन्त्री परिषद्को बैठकले बैंक तथा बित्तीय संस्थामा कर्मचारीको संख्या बढाउने निर्णय गरेपछि लालबन्दीका सबैजसो बैंक केही दिनदेखि दैनिकजसो खुलिरहेका थिए । सामाजिक सुरक्षा भत्ता लिन यहाँका केही बैंकहरुमा सेवाग्राहीको भीड नै लागेको थियो ।
यसैगरी हरिवन नगरपालिकाले पनि सुक्रवारदेखि जेठ ५ गतेसम्म आगामी आईतवार एक दिन बिहान ११ बजेदेखि १ बजेसम्म खोल्न र अन्य दिन नगरभित्रका सबै बैंक, सहकारी र बीमा संस्थाहरु बन्द गर्न सूचना जारी गरेको नगरप्रमुख गणेश प्रसाईले जानकारी दिए ।
उता सर्लाहीको दक्षिणी भेगका पर्ने गोडैता नगरपालिकाले कोभिड–१९ को बढ्दो प्रकोपलाई मध्यनजर गर्दै हिजोबाट जेठ ५ गतेसम्मका लागि नगरपालिकाको अति आवश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द गरेको नगरप्रमुख देवेन्द्र यादवले बताएका छन् । जिल्लाका अन्य केही पालिकाले पनि अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरेका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।