बागमती नगरपालिकाको सबैभन्दा विकट क्षेत्रमा पर्ने त्यस ठाउँमा पहिलो पटक बिजुली बत्ती पुगेपछि स्थानीय खुसीले हर्षित भएका हुन् । कच्ची गोरेटो बाटो भइ पैदल हिँडेर जानुपर्ने हिरिरे डाँडामा बिजुलीबाट ६० भन्दा बढी घरधुरी लाभान्वित भएका वडाध्यक्ष गम्भिरसिंह पाख्रिनले जानकारी दिए ।
यअसघि बिजुली नपुग्दा स्थानीय टुकी बत्ती र सोलारको भरमा थिए । “बिजुली नहुँदा अधिकांश स्थानीय टुकी बत्ती बालेर रात काट्न बाध्य थिए, आर्थिक अवस्था सबल भएका केहीले मात्रै सोलार बत्ती बाल्ने गर्थे,” वडाध्यक्ष पाख्रिनले भने, “अब त बिजुली बत्ती नै पुग्यो, स्थानीयहरु खुशी हुनुहुन्छ ।”
हिरिरे डाँडा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको ठूलो कौवासँगै सीमा जोडिएको बस्ती हो । गाउँमा बिजुली नहुँदा स्थानीय मोवाइल चार्ज गर्नदेखि विद्युत्बाट हुने अन्य काम गर्न लामो समय लगाएर चुरेडाँडा तलको बस्तीमा झर्न बाध्य थिए ।
नेपाल विद्युत् प्राधिकरणको लालबन्दी वितरण केन्द्रले एक वर्षको प्रयासपछि हिरिरे डाँडामा बिजुली पुराइएको जनाएको छ । वितरण केन्द्र प्रमुख सञ्जिवकुमार साहले २५ केभीको ट्रान्सफर्मर लगेर जोडेपछि हिजोबाट हिरिरे डाँडामा बत्ती बल्न थालिसकेको बताए ।
“एक वर्षदेखिको प्रयासले त्यहाँ बत्ती पुरायाउन सफल भयौँ, अधिकांश स्थानीयले मिटर जडान गरेर बत्ती बाल्न थालिसक्नुभएको छ । बाँकीले पनि मिटरका लागि फाराम भरेर जानु भएको छ,” वितरण केन्द्र प्रमुख साहले भने ।
ट्रान्सफर्मर चालू गरी विद्युत्को उद्घाटन गर्न गाउँमा पुगेका बागमती नगरपालिकाका उपप्रमुख लिलाकुमारी मोक्तान, वडाध्यक्ष पाख्रिन, प्राधिकरणको वितरण केन्द्रका प्रमुख साहलगायतलाई स्थानीयले अविर र खादा पहिरियाएर स्वागत गरेका छन् । हिरिरे डाँडामा बत्ती पुगेसँगै लालबन्दी वितरण केन्द्र अन्तर्गत पर्ने छवटा पालिकाका ६० वटै वडामा पूर्ण विद्युतीकरण भएको वितरण केन्द्र प्रमुख साहले बताए ।