नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट सर्लाही–काठमाण्डौं सम्पर्क मञ्चले बन्दाबन्दीपछि झण्डै १७ सय जनालाई काठमाण्डौंदेखि सर्लाहीस्थित घर सम्म पठाएको छ ।
काठमाण्डौंमा रहेका नेकपाका नेता एवं मञ्चका पदाधिकारीहरुले बन्दाबन्दीले गाडी नचल्दा अलपत्र परेर बसेका सर्लाहीवासीलाई निःशुल्क बसको व्यवस्था गरी काठमाण्डौंबाट घर पठाएको हो । जिल्लाको बागमती, हरिवन, लालबन्दी, ईश्वरपुर, हरिपुर, बरहथवा, चक्रघट्टा, मलंगवा लगायत स्थानमा घर भई काठमाण्डौंमा बसोबास गर्ने तथा काम विशेषले पुगेका १७ सय नागरिकलाई उद्धार गरी घर पठाइएको काठमाण्डौंमा बसेर उद्धार कार्यमा समन्वय गरेका नेकपाका नेता केदार मैनालीले जानकारी दिए ।
यसका साथै काठमाण्डौंमा रहेका ९ हजार ९७ जना सर्लाहीवासीलाई राहत स्वरुप खाद्यान्न समेत उपलब्ध गराइएको छ । परिवार संख्या हेरेर थोरै सदस्य भएका परिवारलाई १० किलो चामल, एक किलो दाल र एक पोका नुन तथा अली बढी सदस्य भएका परिवारलाई १५ किलो चामल, दुई किलो दाल र एक पोका नुन उपलब्ध गराएको नेकपा नेता मैनालीले बताए ।
अलपत्र परेकाको उद्धार तथा राहत वितरणमा नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्त, नेकपाका नेता एवं हरिवन नगरपालिकाका मेयर गणेश प्रसाई लगायतले सर्लाहीबाटै समन्वय गरेका थिए ।
यसैगरी काठमाण्डौंमा रहेका सर्लाही–काठमाण्डौं सम्पर्क मञ्चका प्रदेश कमिटी सचिवालय सदस्य सन्तोष दाहाल, नेकपा नेता हरि बर्तौला लगायतले पनि काठमाण्डौंमा रहेका सर्लाहीवासीलाई काठमाण्डौंदेखि घर पठाउने तथा काठमाण्डौंमै रहेकालाई राहत वितरण कार्यमा सक्रिय भएर लागेका थिए ।