सर्लाही जिल्लाको एक समूहले देउसी-भैली खेलेर संकलन गरेको रकम मिर्गौला पीडितलाई हस्तान्तरण गरेको छ। जिल्लाको बागमती नगरपालिका १ कर्मैया पानी ट्यांकी चोकका ३१ वर्षीयका मिर्गौला पीडित अजय कार्कीलाई युवाको समूहले देउसी र भैलीबाट संकलन भएको रकम उनकै घरमा गएर हस्तान्तरण गरेको हो। स्थानीय युवा बाबुराम भट्टराईको नेतृत्वमा रहेको देउसी-भैली समूहले देउसी-भैली खेलेर एक लाख १२ हजार संकलन गरेको थियो। त्यसमा अन्य सहयोगीबाट संकलन भएको रकम समेत गरी मिर्गौला पीडित कार्कीलाई एक लाख ७५ हजार १५० रुपैयाँ नगद हस्तान्तरण गरेको देउसी-भैली समूहका संयोजक भट्टराईले बताए। बिहीबार एक कार्यक्रमको आयोजना गरी समूहले वडाध्यक्ष गंभीर सिङ पाख्रिनमार्फत दुबै मिर्गौला फेल भएका पीडित कार्कीलाई सो रकम हस्तान्तरण गरेको हो। कार्यक्रममा बोल्दै बागमती नगरपालिका १ का वडाध्यक्ष गंभीर सिङ पाख्रिनले पछिल्ले समय संस्कृतिमा बिकृति भित्रन थालेको चिन्ता व्यक्त गर्दै, हाम्रा संस्कार संस्कृतिलाई सामाज परिवर्तनको मेरुदण्डको रुपमा प्रयोग गर्नु पर्नेमा जोड समेत दिए। युवाले गरेको सो पुण्य कार्यको वडाध्यक्ष पाख्रिनले प्रशंसा समेत गरेका थिए। पीडित कार्कीको हाल नियमित डाइलासिस गराइरहेको परिवारले जनाएका छन्।सामान्य आर्थिक अवस्था रहेको कार्की आफैँसँग उक्त रोगको उपचार गर्ने सम्भावना नभएको परिवारको दुखेसो छ। पीडित कार्कीकी ३१ वर्षीया छोरी समेत रहेकी परिवारले जनाएको छ। दुबै मिर्गौला फेल भएका कार्कीको तत्काल मिर्गौला प्रत्यारोपण गर्नु पर्ने भए पनि आर्थिक अवस्था कम्जोर हुँदा समस्या भएको भन्दै पारिवारले आर्थिक सहयोगको समेत अपेक्षा गरेको छ। यसैबीच सोही कार्यक्रममार्फत बागमती नगरपालिका १ मा रहेको पिस पोइन्ट बोडिङ स्कुलका संस्थापक प्रिन्सिपल युवराज मैनालीले पीडित कार्कीकी ३ वर्षीया छोरी आशिका कार्कीलाई आफ्नो स्कुलमा निशुल्क पढाई दिने घोषण समेत गरेका छन्। तिहारमा गाउँका युवा मिलेर देउसी-भैलो खेल्ने र संकलित रकमबाट वनभोज जाने परम्परा तोडेर संकलित रकम मिर्गौलापीडित साथी अजय कार्कीको उपचारमा खर्च गर्नु युवाको प्रशंसनीय कार्य भएको स्थानीयको भनाई छ।