घरमा लुकाइराखेको अवैध मल प्रहरिको नियन्त्रणमा

सर्लाही

धनकौल गाउँपालिका–७, बैरिया टोलमा आज दिउँसो तस्करीको मल नियन्त्रणमा लिन खोज्दा गाउँलेबाट अवरोध भएपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।

स्थानीय राजु सहनीको घरमा लुकाइछिपाइ राखिएको भारतीय अवैध मल जिल्ला प्रहरी कार्यालय मलङ्गवाको टोलीले नियन्त्रणमा लिन खोज्दा एक्कासी गाउँले आएर अवरोध गरेका हुन् । बरामद भएको मल जिल्लातर्फ ल्याउँन खोज्दा गाउँलेले ढुङ्गामुढा गरेर अवरोध गर्न थालेपछि पाँच शेल अश्रुग्याँस प्रहार गरिएको सर्लाही प्रहरीका सूचना अधिकारी तथा डीएसपी दीपेन्द्र पंजियार थारुले जानकारी दिनुभयो ।

जिल्लाबाट इन्स्पेक्टर सुमित कुशवाहाको नेतृत्वमा गएको प्रहरी टोली र स्थानीय प्रहरीमाथि गाउँलेले ढुङ्गामुढा गर्न थालेपछि डीएसपी थारुको नेतृत्वमा गएको थप मद्धत टोलीले तस्करीको मल बरामद नियन्त्रणमा लिएर सदरमुकाम मलङ्गवा ल्याएको छ । डीएसपी थारुका अनुसार सहनीको घरभित्र लुकाइराखिएको ७२ बोरा मल बरामद भएको छ । केही बोरा मल गाउँलेले खोसेर समेत लगेका छन् । गाउँलेले ढुङ्गा प्रहार गर्दा इन्स्पेक्टर कुशवाहा सामान्य घाइते हुनुभएको छ ।

अवैध मल भण्डारण गरेर राख्ने घरधनी राजु सहनी फरार रहेका र उनको खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया