सर्लाहीमा फेरि थपिए १० संक्रमित, हरिपुरमा ७ र ब्रम्हपुरीमा ३
सर्लाहीमा आइतवार थप १० जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । हरिपुर नगरपालिकाको क्वारेन्टाइनमा रहेका सात जना र ब्रह्मपुरी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका तीन जनामा सङ्क्रमण पुष्टी भएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले दिए । यि दुवै पालिकामा पहिलो पटक सङ्क्रमित भेटिएका हुन् । सीमाबाट उद्धार गरेर ल्याई सम्वन्धित पालिकाको क्वारेन्टाइनमा राखिएकाहरुमा कोरोना सङ्क्रमण पाइएको प्रमुख जिल्ला अधिकारी जिसीले बताए । हरिपुर नगरपालिकाका सङ्क्रमितमध्ये चार जना रामलगन मावी पिपरीया र तीन जना स्वास्थ्य चौकी फरहदवाको नवनिर्मित भवनमा बस्दै आएका थिए । उनीहरु १०/१२ दिन अघि भारतको मुम्बई र तमिलनाडुबाट आएका हुन् । हरिपुरमा गत मङ्गलवार क्वारेन्टाइनमा बसिरहेका ५० जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएकोमध्ये सात जनामा कोरोना सङ्क्रमण पाइएको नगर प्रमुख जमिरुदिन मन्सुरले बताए । उनका अनुसार नगरपालिकाको विभिन्न क्वारेन्टाइनमा अहिले १४९ जनालाई राखिएको छ । यस्तै ब्रह्मपुरी गाउँपालिकाका तीन जना सङ्क्रमित पनि केही दिन पहिले भारतकै मुम्बई र अहम्दावादबाट आएका हुन् । त्यसठाउँबाट आएर ब्रह्मपुरी गाउँपालिका–१, मा रहेको जलधर कमलदेव नमूना माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसिरहेका दुई जना र ब्रह्मपुरी गाउँपालिका–२, मा रहेको रामविलास प्राथमिक विद्यालयको क्वारेन्टाइनमा बसिरहेका एक जनामा कोरोना सङ्क्रमण पुष्टी भएको गाउँपालिका अध्यक्ष विनोदकुमार साहले जानकारी दिए । गाउँपालिकाले विभिन्न स्थानमा बनाएको क्वारेन्टाइनमा अहिले दुई सय बढीलाई राखिएको छ । आइतवार नै थप १७ जना भारतका विभिन्न स्थानबाट आएका गाउँपालिका अध्यक्ष साहले बताए । हरिपुरका सङ्क्रमितलाई फरहदवा स्वास्थ्य चौकीमा आइसोलेसन निर्माण गरी त्यहीँ राख्ने र ब्रह्मपुरीका सङ्क्रमितलाई सदरमुकाम मलङ्गवास्थित नर्सिङ्ग कलेजको आइसोलेसनमा पठाउने तयारी भइरहेको छ । आइतवार १० जना सङ्क्रमित थपिएसँगै सर्लाहीमा कोरोना सङ्क्रमितको सङ्ख्या ७० पुगेको छ । लामो लकडाउनले भारतमा अलपत्र परेकाहरु आउनेक्रम बढेसँगै जिल्लामा कोरोना सङ्क्रमित बढिरहेका छन् । भारतबाट फर्किएकाहरुको सम्वन्धित पालिकाहरुले भीटीएम किटको व्यवस्था गरी धमाधम स्वाब सङ्कलन गराउन थालेका छन् । आइतवार जिल्लाका चन्द्रनगर, रामनगर, मलङ्गवा, विष्णु, ब्रह्मपुरी लगायतका स्थानमा स्वाब सङ्कलनको काम भइरहेको छ । यसअघि नै सर्लाहीका विभिन्न क्वारेन्टाइनमा बसिरहेका सात सय बढीको स्वाब सङ्कलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको र उनीहरुको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय मलङ्गवाले जनाएको छ ।
अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।