मेयर प्रसाईंले आफू चढ्न गाडी किन्ने पैसाले पुल निर्माण सूरु

हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईंले आफू चढ्न जीप किन्ने पैसाले नगर क्षेत्र भित्र पक्की पुल निर्माण सूरु गरेका छन् ।

कार्यालय प्रयोजनका लागि मेयर र उपमेयरले प्रयोग गर्ने सवारी साधन किन्ने बजेटबाट हरिवन नगरपालिका–८ चुरे क्षेत्र स्थित चापिनी खोलामा पुल निर्माण सूरु गरिएको नगरपालिकाले जनाएको छ । शुक्रबार बिहान एक समारोहबीच मेयर प्रसाईं र उपमेयर रेणुका पौडेलले संयुक्त रुपमा पुल निर्माणको शिलान्यास गरेका छन् । ‘विशेषगरी वर्षायाममा चापिनी खोलामा बाढी आउँदा कौवा, सखुवनी, कोठीखोला लगायतका बालबालिकाहरु थुनिने गरेका छन्’, मेयर प्रसाईंले उज्यालो अभियानसँग भने, ‘वर्षायाममा यस क्षेत्रका नगरबासीहरु दैनिक उपभोग्य सामग्री किन्न बजार एवं नगरपालिका कार्यालय आउनजान पनि नपाईरहेको अवस्थालाई मध्यनजर गर्दै आफू चढ्ने जीप किन्न नगरपालिकाबाट छुट्टयाईएको बजेटबाट पुल निर्माण सूरु गरेको छु ।’

संयुक्त रुपमा पुल शिलान्यास गर्दै मेयर प्रसाईं तथा उपमेयर पौडेल । 

कौवा, कोठीखोला, सखुवनी लगायत टोलमा ३०० भन्दा बढी घरधुरी रहेको स्थानीय दिलबहादुर फुयाँलले जानकारी दिए । मेयर प्रसाईंले आफू चढ्ने जीप किन्न छुट्टयाईएको बजेटले पुल निर्माण गरेर यस क्षेत्रका बासिन्दालाई ठूलो गुन लगाउँदै सह्रानीय कार्य गरेको फुयाँलको धारणा छ ।

नगरपालिकाका इन्जिनियर जकी अहमद सिद्धिकीले प्रदेश सरकारबाट आएको २५ लाख रुपैंयामा नगरपालिकाले थप गरेर जम्मा ९९ लाख तीनहजार ३९० रुपैंयामा पुल निर्माण कार्यका लागि ठेक्का सम्झौता भएको जानकारी दिए । उनका अनुसार वैशाख २१ गतेबाट १५० दिनभित्र पुल निर्माण सम्पन्न गर्नेगरी अमिता÷एसआर जेभी निर्माण कम्पनीसँग सम्झौता भईसकेको छ । पक्की पुल १६ मिटर लम्बाई तथा ४.२५ मिटर चौँडाई रहने छ ।

शिलान्यास कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खरुदेव चुँडाल, वडाध्यक्षहरु यज्ञविनोद ढुंगेल, शेष मेहबुब रेजा, सत्ताधारी नेकपाका नेताहरु विदुर कुमार प्याकुरेल, सुरेन्द्र लामा, रामप्रसाद घिमिरे, भरतकुमार कार्की लगायतको आतिथ्यता रहेको थियो । कोरोना भाईरसको संक्रमणबाट जोगाउन सरकारले लकडाउन जारी गरेको भएपनि त्यसको कुनै परबाह नगरी पुल शिलान्यास कार्यक्रम स्थलमा दर्जनौं स्थानीय जम्मा भएका थिए । स्थानीयले मेयर प्रसाईं, उपमेयर रेणुका पौडेल, वडा नं. ८ का वडाध्यक्ष यज्ञविनोद ढुंगेल लगायतलाई फुलमाला नै लगाएर भव्य स्वागत गरेका थिए । शिलान्यास स्थलको भिडभाड हेर्दा मुलुकमा कोरोना भाईरसको कुनै त्रास नै छैन भनेजस्तो भान मिल्थ्यो । मेयर प्रसाईंले भने धेरैजना जम्मा नहुन आग्रह गरेपनि स्थानीय बासिन्दा स्वतस्फुर्तः कार्यक्रम स्थलमा आएको बताए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।