भारतमा तीन नेपाली मजदुरको हत्या

भारतको पिथौरागढमा तीन नेपाली मजदुरको विभत्स हत्या भएको छ ।

बैतडीको पुरचौडी नगरपालिका-५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका २७ वर्षीय बीरा बोहरा र पुरचौडी नगरपालिका-४ भटना तडीखेतका ३६ वर्षीय काशी बोहराको हत्या भएको हो । हरे र बीरा सहोदर भाइ हुन् ।

उनीहरुको पिथौरागढको मडधुरा गाउँमा ८ कात्तिकमा हत्या भएको हो । उनीहरुको हत्याबारे आइतबार मात्रै थाहा भएको जिल्ला समन्वय समिति बैतडीका उपप्रमुख धनबहादुर बोहराले राससलाई बताएका छन् । उनले भनेका छन्, ‘उनीहरुलाई धारिलो हतियारले काटेर हत्या गरिएको खबर प्राप्त भएको छ ।

उनीहरुले पिथौरागढमा डेढ वर्षयता मजदूरी गर्दै आएका थिए । बीरा केही महिनाअघि मात्रै दाजुभाउजूलाई भेट्न पिथौरागढ गएका थिए र उतै मजदूरी गर्दै आएका थिए ।

हरे बोहराकी श्रीमती किर्रा बोहरा सम्पर्कविहीन छिन् । यो घटनामा उनको संलग्नता हुनसक्ने आशंका स्थानीय प्रहरीले गरेका छन् । भारतीय मिडियाहरुका अनुसार अलमोडाबाट घटनास्थलमा आएको फरेन्सिक जाँचको टोलीले फिंगर पि्रन्टलगायतका नमूना संकलन गरेर फर्किएको छ ।

मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि पिथौरागढमै राखिएको छ ।

प्रतिक्रिया