प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेसशभामा आज विश्वासको मत लिने भएका छन् । प्रमुख सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) विभाजन भएका कारण संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री राउत विश्वासको मत लिन लागेका हुन् ।
प्रदेश सरकारको सिफारिसमा झण्डै दुई महिनापछि आज विहान ११ बजेका लागि प्रदेशसभा बैठक डाकिएको छ । उक्त बैठकमा मुख्यमन्त्री राउतले विश्वासको मत लिने प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले जानकारी दिए ।
जसपाबाट अलग भएर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भएको छ । भदौ ९ मा निर्वाचन आयोगमा लोसपा दर्ता भएको थियो । तर प्रदेश सांसदलाई दल रोज्ने समय आयोगले भदौ २२ गतेसम्मका लागि तोकेका कारण त्यसलाई आधार बनाएर संवैधानिक व्यवस्था अनुसार ३० दिनभित्रै मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका छन् ।
१०४ सांसद रहको प्रदेशसभामा मुख्यमन्त्री राउतको पक्षमा स्पष्ट बहुमत छ । प्रमुख सत्तारुढ जसपाका ३८, सत्तारुढ दलहरु नेपाली कांग्रेसका १९ र नेकपा माओवादी केन्द्रका ८ सांसद छन् । सरकारमा सहभागी हुन तयार अवस्थामा रहेका माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका १३ सांसद र नेपाल संघीय समाजवादी पार्टीका १ सांसद पनि सरकारको पक्षमै रहेका छन् । यो हिसाबले मुख्यमन्त्री राउतले ७९ मत पाउने देखिन्छ ।
लोसपाका साँसद परमेश्वर साहले मुख्यमन्त्री राउतको राजीनामा माग्दै संसद अवरुद्ध गर्ने जानकारी दिए । उनले भने, ‘भ्रष्टाचारको आरोप लागेका कारण मुख्यमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्थ्यो । तर राजीनामा दिनुभएन । त्यसैले हामी संसद अवरुद्ध गरी राजीनामा माग्ने निर्णय गरेका छौं ।