सर्लाही, २९ असोज÷मुकुन्द ढुगेल
जनप्रतिनिधि, सरसफाइ अभियन्ता एवं सर्वसाधारणको उत्साहजनक सहभागितामा विश्व हात धुने दिवस १५ अक्टोवर २०२० सर्लाही जिल्लाका सबै २० वटै स्थानीय तहमा एकै समयमा एकै साथ विहान १०ः३० बजे साबनु पानीले हात धुने कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति, सर्लाहीको निर्णय र आव्हान बमोजिम सर्लाहीका सबै स्थानीय तहले साबुनपानीले हात धुने कार्यक्रमको आयोजना गरी हात धुने दिवस मनाएका हुन् ।
यसै सन्दर्भमा बागमती सेवा समाज नेपाल, सर्लाहीले युएन ह्याविट्याट, अक्सफाम र वल्र्डभिजनसँगको साझेदारीमा सर्लाही जिल्लाका ७ वटा स्थानीय तहहरुमा साबुनपानीले हातधुने अभियान संचालन गरेको जनाएको छ । बसवरिया गाउँपालिकामा आयोजित साबुनपानीले हातधुने कार्यक्रममा बोल्दै संविधान सभा सदस्य माननीय किरणकुमारी रायले साबुनपानीले हात धुनाले कोरोना लगायतका सरुवा रोगबाट जोगिन सक्ने भएकोले सबैले आफ्नो दैनिक व्यवहारमा अपनाउनु पर्ने बताउनुभयो ।
“साबुनपानीले हात धुनु व्यक्तिको सकारात्मक बानी व्यवहारसँग जोडिएको विषय हो ।” माननीय रायले भन्नुभयो “यस अभियानलाई सफल बनाउन सबैले जोखिमपूर्ण अवस्थामा दैनिक रुपमा साबुनपानीले हात धुने बानीको विकास गर्नु जरुरी छ ।”
बागमती सेवा समाज नेपालका कार्यकारी निर्देशक निरज भण्डारीका अनुसार संस्थाको सहजीकरणमा सर्लाही जिल्लाको हरिवन नगरपालिका, इश्वरपुर नगरपालिका, हरिपुर नगरपालिका, बरहथवा नगरपालिका, बसवरिया गाउँपालिका, कविलाशी नगरपालिका र हरिपूर्वा नगरपालिकामा विश्व हात धुने दिवसका अवसरमा साबुन पानीले हात धुने अभियान संचालन गरिएको छ । स्थानीय तहसँगको समन्वयमा आयोजित कार्यक्रममा पालिकाका प्रमुख तथा जनप्रतिनिधिहरुको उत्साहजनक सहभागिता रहेको थियो भने सर्वसाधारण जनताको पनि बाक्लो उपस्थिति रहेको थियो ।
सो अवसरमा साबुन पानीले हात धुनु पर्ने आवश्यकता, हात धुने तरिका आदिको बारेमा जानकारी दिंदै प्रयोगात्मक रुपमा प्रदर्शनी गरिएको थियो । यस क्रममा सर्लाही जिल्लाका २ लाख ९८ हजार २ सय ५० जनामा साबुन पानीले हातधुने अभियानबाट लाभान्वित भएको जानकारी संस्थाले दिएको छ ।
हातधुने दिवसलाई सफल बनाउन संस्थाले जिल्लाका सबै एफएम रेडियो, पत्रपत्रिकाबाट सार्वजनिक सूचना प्रशारण÷प्रकाशन गर्नुका साथै २ वटा गाडीको माध्यमबाट गाउँ गाउँमा माइकिङ समेत गरिएको थियो भने कर्मचारी परिचालन गरी अक्टोवर महिनाको शुरुबाट नै गाउँगाउँमा साबुन पानीले हातधुने अभियान संचालन गरेको थियो ।
यसैबीच संस्थाको सहजीकरणमा प्रदेश नं. २ का ८ वटै जिल्लामा साबुनपानीले हात धुने दिवस मनाइएको छ । सेभ द चिल्ड्रेनसँगको साझेदारीमा संचालित राष्ट्रिय क्षयरोग कार्यक्रमको सहजीकरणमा उक्त जिल्लाका मुख्य बजार क्षेत्र र कार्यालयमा साबुन पानीले हात धुने अभियान संचालन गरी १ लाख भन्दा बढी व्यक्तिलाई सुसूचित गरिएको जनाइएको छ ।
विश्व हातधुने दिवसकै अवसरमा जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव तथा जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, सर्लाहीका प्रमुख जानकी शरण भगतको नेतृत्वमा हात धुने दिवसको अनुगमन गरिएको छ । अनुगमन पश्चात आयोजित समीक्षा कार्यक्रममा बोल्दै प्रमुख भगतले साबुन पानीले हात धुने कुरा अब क्रमशः सर्वसाधारण जनताले पनि अवलम्बन गर्न थालेको कुरा बताउनुभयो । खुला दिसामुक्त अभियान पश्चात घर घरमा छुट्टै हातधुने स्थानको निर्माण गरी साबुन पानीले हात धुने बानीको विकास हुनु सफलताको विषय भएको वहाँले बताउनुभयो ।
हात धुने दिवसकै दिन सर्लाही जिल्लाको गाउँ गाउँ र विद्यालयमा समेत साबुन पानीले हातधुने अभियान संचालन गरिएको छ । संस्थाका टिमलिडर गजेन्द्र साहका अनुसार पालिका तहमा मात्र नभई गाउँ, टोलमा सर्वसाधारणलाई र विद्यालयमा शिक्षक, विद्यार्थीलाई जानकारी दिने र दिवसमा सहभागी गराउने उद्देश्यले साबुन पानीले हात धुने अभियान संचालन गरिएको हो । यसबाट सर्वसाधारण, विद्यार्थी, शिक्षक, अभिभावकले साबुनपानीले हात धुने तरिका र आवश्यकताका बारेमा जानकारी पाएका छन् ।
संस्थाका कार्यक्रम प्रवन्धक दिवाकर झाले दिनुभएको जानकारी अनुसार हातधुने दिवसको अवसरमा विहान ठिक १०ः३० बजे बागमती सेवा समाज नेपालको मुख्य कार्यालय हरिवन, सर्लाहीमा कार्यरत कर्मचारीहरु भेला भई साबुन पानीले हात धुने दिवस मनाएका छन् ।