शुभद्रा पाण्डे
लामो समयको बन्दाबन्दी पश्चात खुल्न लागेका विद्यालयहरुमा बाल क्लव परिचालन गरी विद्यालय सरसफाइ अभियानलाई अगाडि बढाइने सहमती भएको छ ।
हरिवन नगरपालिका र नगर क्षेत्रका विद्यालयहरुसँग असोज ९ गते आयोजित अन्तरक्रिया कार्यक्रममा यस्तो सहमती भएको हो । सो कार्यक्रममा बोल्नुहुँदै हरिवन नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव नवराज निरौलाले बागमती सेवा समाज नेपालले हरिवन नगरपालिकामा पूर्ण सरसफाइ अभियान संचालन गरिरहेको र विद्यालयमा पनि उक्त गतिविधि संचालन हुनु खुशीको कुरा भएको बताउनुभयो ।
“नगरपालिकासँग सम्झौता गरेर संस्थाका गतिविधिहरु संचालन भइरहेका छन् ।” उपसचिव निरौलाले भन्नुभयो “विद्यालयमा बाल क्लवको दिगोपनाका लागि क्लवलाई नगरपालिकामा आवद्धता गराई हरिवन नगरपालिकाको तर्फबाट बाल क्लवलाई बजेट प्रदान गरी विद्यालयमा सरसफाइ र हरित विद्यालय अभियानलाई अगाडि बढाइनेछ ।”
सो अवसरमा बोल्दै अधिकांश शिक्षकहरुले विद्यालयको सरसफाइ अहिलेको चुनौतिको विषय रहेको बताएका थिए । अर्कोतिर विद्यालयमा सरकारबाट निःशुल्क सेनिटरी प्याड वितरण भएको तर त्यसको सही व्यवस्थापनका लागि पहल नभएको गुनासो गरेका थिए । “प्याड प्रयोग गरेपछि कसरी व्यवस्थापन गर्ने भन्ने ज्ञान र आवश्यक पूर्वाधारको अभावले विद्यालय फोहोरको डंगुर बन्ने सम्भावना बढेको छ ।” कार्यक्रममा सहभागी एक शिक्षिकाले भन्नुभयो ।
उक्त अन्तरक्रिया कार्यक्रममा हरिवन नगरपालिका भित्रका विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
यसैबीच उक्त अन्तरक्रिया कार्यक्रमबाट तत्काललाई ५ वटा विद्यालयमा युएन ह्याविट्याटको सहयोगमा बागमती सेवा समाज नेपालले बाल क्लवलाई परिचालन गरी विद्यालयमा सरसफाइ अभियानलाई अगाडि बढाउने सहमती भएको छ ।