सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नं. ८ स्थित मिलिजुली टोलका बासिन्दाहरु आफ्नो टोललाई नमुना सरसफाई टोल बनाउनका लागि व्यवस्थित कार्ययोजना निर्माण गरेर अगाडि बढेका छन् ।
हरिवन नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष यज्ञविनोद ढुंगलेको विशेष उपस्थिति एवं मिलिजुली नमुना सरसफाई टोल मुल समितिका अध्यक्ष अमृत बहादुर वि.क.को अध्यक्षतामा सम्पन्न भेलाले टोललाई सरसफाईयुक्त बनाउन लागी पर्ने निर्णय गरेको हो ।
“सरसफाईमा ध्यान दिनाले घर र समुदायको सुन्दरता बढ्ने मात्र नभई यसले मानिसको स्वास्थ्यमा पनि प्रत्यक्ष प्रभाव पार्छ ।” वडा अध्यक्ष ढुंगेलले भन्नुभयो “अहिलेको महामारी कोरोना संक्रमणबाट जोगिन पनि सरसफाईको ठूलो महत्व छ ।” दलित समुदायको बाहुल्यता रहेको मिलिजुली टोलमा जम्मा १७ घरधुरी बासिन्दा रहेको पूर्ण सरसफाई सहजकर्ता रेखा थापाले बताउनुभयो ।
उक्त भेलाबाट समितिको कार्ययोजना, काम, कर्तव्य र अधिकार तथा आचार संहिता समेत निर्माण गरिएको छ । समितिका अध्यक्ष वि.क.का अनुसार टोललाई नमुना सरसफाई बनाउनका लागि अभियान यस अघि नै शुरु भइसकेको छ । यसका लागि घर घरमा चाङ निर्माण, चर्पी स्तरीकरण, भान्साको पानी व्यवस्थापन आदि कामहरु द्रुत गतिमा अगाडि बढेका छन् । कार्ययोजनामा सबैले मासिक रुपमा बचत गर्ने, सरसफाई कोष खडा गर्ने, साप्ताहिक बैठक बस्ने, घरायसी सरसफाईको अनुगमन गर्ने र सरसफाई नगर्ने घरलाई कडाई गर्ने जस्ता विभिन्न कुराहरु समेटिएको अध्यक्ष वि.क.ले जानकारी दिनुभयो । “पूर्ण सरसफाईका सूचकहरु पुरा भएपछि नमुना सरसफाई टोल घोषणाका लागि पहल गर्नेछौं ।” वहाँले भन्नुभयो ।
मिलिजुली टोलका बासिन्दाहरुले पूर्ण सरसफाई टोल बनाउन देखाएको तत्परतालाई आत्मसाथ गर्दै सर्लाही जिल्लामा पूर्ण सरसफाई परियोजना संचालन गरिरहेको बागमती सेवा समाज नेपालले उक्त टोलमा सरसफाईका सामाग्रीहरु यस अघि नै वितरण गरिसकेको जानकारी संस्थाका टिम लिडर गजेन्द्र साहले दिनुभयो ।
टिम लिडर साहका अनुसार बागमती सेवा समाजले युएन ह्याविट्याटको साझेदारीमा सर्लाही जिल्लाको इश्वरपुर नगरपालिका, हरिवन नगरपालिका र बसबरिया गाउँपालिकामा पूर्ण सरसफाईको कार्यक्रम संचालन गरिरहेको छ । “परियोजना अन्तर्गत स्थानीय तहसँग मिलेर प्रत्येक वडामा नमूना सरसफाई टोल र नमूना सरसफाई विद्यालय बनाउन प्राविधिक रुपमा सहयोग गरिरहेका छौं ।” टिम लिडर साहले भन्नुभयो ।