सर्लाहीमा सुक्रवार दुई जना पत्रकारसहित थप चार जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । सदरमुकाम मलङ्गवाबाट प्रकाशन हुने एक दैनिक पत्रिकामा कार्यरत ३० वर्षीया महिला पत्रकार र मलङ्गवाकै एक पत्रिका एवं रेडियोमा कार्यरत २६ वर्षीय पत्रकारमा कोरोना सङ्क्रमण देखिएको हो । केही दिनअघि सदरमुकाम मलङ्गवामा पत्रकार, सुरक्षाकर्मी, एम्बुलेन्स चालकसहित २९ जनाको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो । तीमध्ये दुई जना पत्रकारमा कोरोना सङ्क्रमण पाइएको हो ।
यस्तै जिल्लाको कौडेना गाउँपालिकाका दुई जनामा पनि कोरोना सङ्क्रमण देखिएको छ । केही दिनअघि भारतबाट आएर क्वारेन्टाइनमा बसिरहेका २१ र १९ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण देखिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । उनका अनुसार कौडेनाबाट स्वाब पठाइएको ४५ जनामध्ये दुई जनामा सङ्क्रमण देखिएको हो ।
पीसीआर रिपोर्ट नेगेटिभ आएका ४३ जनालाई भोली शनिवार घर पठाइने कौडेना गाउँपालिकाका अध्यक्ष रामप्रसाद यादवले बताए । यादवका अनुसार कौडेना गाउँपालिकाको विभिन्न क्वारेन्टाइनमा अहिले १ सय २५ जना भन्दा बढीलाई राखिएको छ ।
सुक्रवार थपिएका चारै जना सङ्क्रमितलाई मलङ्गवास्थित नर्सिङ्ग कलेजमा निर्माण गरिएको आइसोलेसनमा राखेर उपचार गरिने प्रमुख जिल्ला अधिकारी जिसीले बताए । सुक्रवार चार जना थपिएसँगै सर्लाहीमा कोरोना सङ्क्रमितको सङ्ख्या ४३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सर्लाहीका अहिलेसम्म ४४ जनामा संक्रमण पुष्टी गरेपनि गोडैता नगरपालिका निवासी भनी नाम, ठेगाना उल्लेख गरिएका एक जनाको अझै पहिचान भएको छैन् ।
भारतीय सीमावर्ती क्षेत्रमा पर्ने गोडैता नगरपालिकामा मात्रै २५ जनामा सङ्क्रमण देखिएको छ । यस्तै सदरमुकाम मलङ्गवामा नौ जना, हरिवन, बाग्मती, कविलासी र हरिपूर्वा नगरपालिका तथा रामनगर गाउँपालिकामा एक÷एक जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ ।
अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।