लालबन्दी – पूर्व–पश्चिम राजमार्गस्थित सर्लाहीको प्रमुख व्यापारिक केन्द्र लालबन्दी बजारमा लकडाउन अर्थात बन्दाबन्दीलाई भोली (मंगलवार ) बाट थप कडा पारिने भएको छ ।
देशभर नै कोरोना भाईरस (कोभिड–१९) का संक्रमित बढिरहेको अवस्थामा बजार क्षेत्रमा अस्वाभाविक भीडभाड बढेपछि भोलीबाट कडाई गर्न लागिएको हो । लालबन्दी बजारमा यसअघि खाद्यान्न बिक्री गर्ने पसल व्यवसाय जुनसुकै बेला खोल्न दिइएको थियो । तर भोलीबाट भने साँझ ५ बजेदेखि ७ बजेसम्म मात्रै खोल्न दिने निर्णय भएको मेयर मानबहादुर खड्काले बताए ।
भीडभाड नगरी दूरी कायम गरेर मात्रै निर्धारित समयमा दाल, चामल, नुन, तेल लगायतका खाद्यान्न बिक्री गर्न नगरपालिकाले आग्रह समेत गरेको छ । औषधि तथा दूधजन्य वस्तु बिक्री गर्ने पसल भने जतिबेला पनि खुल्न सक्ने छन् । यसैगरी लालबन्दी बजारमा अनावश्यक रुपमा हिँड्डुल गर्ने, माक्स नलगाइ हिँड्ने र अनावश्यक सवारी साधन लिएर हिँड्नेलाई दुई घण्टा रोकेर मात्रै छाडिने ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए ।
यसबारेमा सोमवार बजार क्षेत्रमा माईकिङ गरेर जानकारी समेत गराइएको प्रहरी निरीक्षक थापाले बताए ।