सर्लाहीमा छुट्टा छुटै भएको सवारी दुर्घटनामा परि २ जनाको ज्यान गएको छ।

सर्लाहीको हरिवन र हरिपूर्वामा सोमबार साँझ भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन नगरपालिका–४, लखन्देही पुल नजिकै पिकअप गाडीले ठक्कर दिँदा लालबन्दी नगरपालिका–१, नवलपुर बस्ने ३२ वर्षीय रवीन खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । खड्कालाई प्रदेश २–०३–००१ च ११२४ नम्वरको मोटरसाइकलमा हरिवनबाट नवलपुरस्थित घरतर्फ आउँदै गर्दा विपरीत दिशाबाट गइरहेको ज ५ प ७६५५ नम्वरको गाडीले ठक्कर दिइ गम्भीर घाइते भएका थिए ।

उनलाई नमूना अस्पताल हरिवनमा उपचार गरी इसिजी गर्न हरिवनकै सरस्वती अस्तपाल लैजाँदा चिकित्सकले मृत घोषणा गरेका हरिवन प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न गाडी र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

त्यसैगरी, जिल्लाको हरिपूर्वा नगरपालिका–९, खिला टोलस्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा छोराको मृत्यु भएको छ भने बुवा गम्भीर घाइते भएका छन् । श्रीनगरबाट बसन्तपुरतर्फ गइरहेको प्रदेश २–०२–००३ प ३४९४ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भइ पल्टिँदा मोटरसाइकल पछाडि सवार हरिपूर्वा नगरपालिका–९, कै बेचन राय यादवका छोरा १४ वर्षीय रितेश राय यादवको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चलाइरहेका मृतक रितेशका बुवा बेचन गम्भीर घाइते भएका छन् । बेचनको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ ।

प्रतिक्रिया