सर्लाहीमा चट्याङ लागेर १ जनाको मृत्यु, ४ जना घाइते

सर्लाहीको उत्तर–पूर्वी चुरेभेगमा पर्ने ईश्वरपुर नगरपालिका वडा नं. १२ घारिबथानस्थित गुईडुङमा सोमबार अपरान्ह चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।

सो घटनामा २ वर्षकी बालिकासहित ४ जना घाइते भएका छन् । सोमबार अपरान्ह ४ बजेतिर पानीसँगै परेको चट्याङ लागेर गुईडुङका अन्दाजी २८ वर्षीय प्रेमबहादुर घलानको ज्यान गएको हो ।

चट्याङ लागेर गम्भीर घाइते हुनुभएका घलानलाई उपचारका लागि सोमबार साँझ बर्दिवासस्थित जनसेवा अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । घलानलाई ज्वाइँ वुद्धबहादुरको घरमा गएर गफ गरिरहेका बेला चट्याङ लागेको स्थानीयले बताएका छन् ।

चट्याङ लागेर मृतक घलानकी श्रीमती २६ वर्षीया नन्दीमाया घलान, ज्वाइँ २७ वर्षीय वुद्धबहादुर पाख्रिन, वुद्धबहादुरकी छोरी २ वर्षकी प्रतिमा पाख्रिन र स्थानीय २७ वर्षीय रुद्रमान स्याङतान घाइते भएका छन् । उनीहरु सबैलाई उपचारका लागि भर्खरै जनसेवा अस्पताल बर्दिवास पुर्याएको बिरामीसँगै गएका गुइँडुङका स्थानीय वीरबहादुर थिङले बताए ।

उनका अनुसार घाइते सबैको अवस्था सामान्य छ । चट्याङ लागेपछि अचेत भएकी २ वर्षकी बालिका प्रतिमाको अहिले होस खुलेको थिङले बताएका छन् ।

सोमबार अपरान्ह सर्लाहीको मौसम एक्कासी बद्लीभई चट्याङ परेको थियो । उत्तरी चुरेभेगमा केहीबेर ठूलै पानी परेको थियो ।सोमबार घटना भएको गुईडुङ गाउँ ईश्वरपुर नगरपालिकाको विकट क्षेत्रमा पर्छ । सडक नपुगेको त्यस ठाउँमा घारिबथानस्थित चुरेको फेदीबाट एक घन्टा भन्दा बढी पैदल हिँडेर डाँडा चढेपछि पुगिन्छ ।

चट्याङ परेर दुःखद् घटना भएपछि आफूहरुले बिरामीलाई पानी पर्दापर्दै झोलुंगोमा बोकेर तल घारिबथानसम्म झारेको स्थानीयवासी थिङले बताएका छन् । स्थानीयले बोकेर तल झारेका बिरामीलाई एम्बुलेन्स खोजेर उपचारका लागि बर्दिवास पठाइएको घारिबथानका वडाध्यक्ष देवीबहादुर खत्रीले बताएका छन् । उनले दुःखद घटनापछि गुईडुङ गाउँ शोकमग्न बनेको सुनाए ।

इलाका प्रहरी कार्यालय केशरगन्ज बयलवासका अनुसार घटनास्थल पूर्व पश्चिम राजमार्गस्थित फूलजोर चोकबाट १७ किलोमिटर उत्तरतर्फ पर्छ । बयलवासका प्रहरी निरीक्षक रोशन थापाले विकट क्षेत्रमा अपरान्ह भएको सो घटनाबारे साँझमा मात्रै प्रहरीमा खबर आएको बताए ।

प्रतिक्रिया