सर्लाहीमा पहिलो पटक नगर प्रहरी राख्दै बरहथवा नगरपालिका

बरहथवा – सर्लाहीमा पहिलो पटक बरहथवा नगरपालिकाले नगर प्रहरी छनौट गरेको छ ।

अन्य जिल्लाका पालिकाहरुले आफ्नो मातहत रहने गरी नगर प्रहरी राखे पनि सर्लाहीमा भने अहिलेसम्म कुनै पालिकाले नगर प्रहरी भर्ना गरेका थिएनन् । बरहथवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदनकुमार थापाले एक जना नगर प्रहरी सहायक निरीक्षक (असई), एक जना नगर प्रहरी हवल्दार र पाँच जना नगर प्रहरी जवान छनौट गरिसकिएको जानकारी दिए ।

अब केही दिनभित्रै कार्यपालिका बैठकबाट समर्थन गरेपछि सातै जना नगर प्रहरीलाई नियुक्ति दिई काममा खटाइने प्रमुख प्रशासकीय अधिकृत थापाले बताए । उनका अनुसार महिला नगर प्रहरीका लागि भने पुनः अर्को सूचना निकालेर दरखास्त आह्वान गर्नुपर्ने भएको छ ।

महिलाको आरक्षण कोटाबाट लिखितमा कसैले पनि ४० अङ्क प्राप्त गर्न नसकेकाले महिला नगर प्रहरी छनौट गर्न नसकिएको थापाले बताए । एक जना महिला नगर प्रहरी हवल्दार र एक जना महिला नगर प्रहरी जवान माग गरिए पनि कुनै पनि उम्मेदवार उर्तिण हुन नसकेको नगरपालिकाले जनाएको छ ।

बरहथवा नगरपालिकाकी नगरप्रमुख कल्पनाकुमारी कटुवालले नगरलाई व्यवस्थित बनाउन नगर प्रहरी राख्न लागिएको बताएकी छन् ।

प्रतिक्रिया