सर्लाहीको हरिवनमा एकजना कोरोना संक्रमितको मृत्यु

हरिवन नगरपालिका अन्तर्गत सासापुर स्थित कोभिड अस्पतालमा उपचाररत एकजना कोरोना भाईरस संक्रमितको मृत्यु भएको छ । सोमबार बिहान १ बजे चक्रघट्टा गाउँपालिका–४ निवासी ५२ वर्षीय एक पुरुषको मृत्यु भएको हरिवन नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख श्रवण कुमार नायकका अनुसार योसँगै सर्लाहीमा पछिल्लो कोरोना भाईरस संक्रमणका क्रममा मृत्यु हुनेको संख्या २० पुगेको छ । त्यस्तै सक्रिय कोरोना संक्रमितको संख्या ६८५ जना पुगेको जनस्वास्थ्य प्रमुख नायकले जानकारी दिए ।

मृतक गत वैशाख २९ गते दिउँसो ३ बजेदेखि पूर्व–पश्चिम राजमार्ग स्थित गणेश चोक नजिकको सासापुर स्वास्थ्य चौकी अन्तर्गत कोभिड अस्थाई अस्पतालमा उपचाररत थिए । उच्च ज्वरो लगायत सबै लक्षण समेत देखिएपछि वीरगंजको गण्डक अस्पतालमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि सो अस्पतालले बेड अभाव भन्दै उनलाई फिर्ता पठाएको थियो । लगतै उनी सासापुर स्थित कोभिड अस्थाई अस्पतालमा भर्ना भएका थिए । सासापुर अस्पतालका चिकित्सकले समेत उनलाई यहाँ उपचार गर्न नसकिने भन्दै रेफर गरेपनि अन्त कतै नजाने भन्दै उपचारमा बसेको बताईएको छ ।

अहिले मृतकको शव चक्रघट्टा लैजाने तयारी भईरहेको हरिवन नगरपालिका स्वास्थ्य शाखा सह–संयोजक रामबाबु चौधरीले जनाएका छन् । हरिवनको सासापुर स्वास्थ्य चौकीमा ४० बेडको अस्थाई कोभिड अस्पतालमा ६ जना उपचाररत रहेकामा अब बागमती नगरपालिका ५ जना कोरोना संक्रमित उपचाररत रहेको स्वास्थ्य शाखाका सह–संयोजक चौधरीले जानकारी दिए ।

हरिवन नगरपालिकामा केही दिनअघि ५४ जनाको थ्रोट स्वाब परीक्षण गर्दा ४१ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको थियो । पछिल्लो समय जिल्लामा परीक्षण गर्दा ७५ प्रतिशत भन्दा बढीमा कोरोना भाईरस पोजेटिभ देखिने गरेको छ । जुन तथ्यांकलाई हेर्दा समुदाय स्तरमा नै कोरोना भाईरस व्यापक भईसकेको उल्लेख गर्दै स्वास्थ्य विज्ञहरुले सजग र सचेत हुन आम जनमानसमा आग्रह गरेका छन् भने सरोकारवाला निकायले पनि उचित कदमहरु बेलैमा चाल्नुपर्ने आवश्यकता रहेको औंल्याएका छन् ।

प्रतिक्रिया