नयाँरोड – कोरोना भाईरस संक्रमण पुष्टि भएपछि संक्रमित बस्दै आएको हरिवन नगरपालिका–१०, नयाँरोड स्थित एक घरलाई हिजो ९ मंगलबार साँझबाट सिल गरिएको छ ।
संक्रमित ३५ वर्षीय पूरुषलाई भने उपचारका लागि हिजो साँझ नै जनकपुर स्थित प्रादेशिक अस्पताल पठाईएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । ‘संक्रमित पुरुषलाई जनकपुर पठाईएको छ, प्रजिअ जिसीले भने, ‘संक्रमित बाहेक उक्त घरमा १५ जना बस्दै आउनु भएको रहेछ उहाँहरु हिजो रातभर त्यही राखी आज बिहानबाट हरिवन नगरपालिकाको क्वारेन्टिनमा राखिने छ ।’ हिजो रातभरलाई उक्त घरमात्र सिल गरिएको प्रजिअ जिसीले जानकारी दिए ।
उदयपुरको त्रियुगा नगरपालिका–११ घरभई हाल हरिवनको नयाँरोडमा डेरा गरी बस्दै आएका एक ३५ वर्षीय पुरुषलाई कोरोना भाईरस पुष्टी भएपछि उनी डेरा बसेको घरलाई सिल गरिएको हो । हरिवन नगरपालिकाका मेयर गणेश प्रसाँईंका अनुसार नयाँरोड बजारदेखि पश्चिम लच्का नजिक रहेको उक्त घरको पहिलो तलामा सटरहरु रहेको छ भने दोस्रो तल्लामा संक्रमित पुरुष र उनकी श्रीमति सहित एक छोरा र छोरी तथा अन्य कोठाहरुमा थप ७ जना भाडामा बस्दै आएका थिए । तेस्रो तल्लामा भने घरधनीका ४ जना बस्दै आएका थिए । दोस्रो तल्लामा भाडामा बस्ने एक चालकका सहचालकलाई समेत हिजो सोही घरमा राखिएको छ । बागमतीका उनी सँधै घरजाने गरेपनि उनलाई समेत क्वारेन्टिनमा राखिने मेयर प्रसाईंले जानकारी दिए ।
मंगलबार तयारी गर्दा गर्दै साँझ परेकाले १५ जनालाई नै सोही घरमा राखिएको र बुधबार बिहानबाट भने हरिवन नगरपालिकाको निर्माणधिन भवनमा रहेको क्वारेन्टिनमा राखिने मेयर प्रसाईंले बताए । संक्रमित पुरुष तरकारी बोक्ने ट्रक चलाउने चालक भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्रकधनी भने सासापुरका हुन् । नवलपुर र लालबन्दी बजारबाट काठमाडौं लगायत विभिन्न ठाउँमा तरकारी ओसार्ने ट्रक चलाउँदै आएका उनले गत जेठ २ गते टेकु अस्पतालमा स्वाब परीक्षणका लागि दिएको जानकारीमा आएको प्रहरीले जनाएको छ ।
आज १५ जनाकै स्वाब संकलन गरेर परीक्षणका लागि पठाईने प्रजिअ जिसीले जानकारी दिए ।
बागमतीमा १५ जना शंकाष्पद्
बागमती नगरपालिका–९ का एक पूरुषको पनि मंगलबार नै कोरोना भाईरस पोजेटिभ आएसँगै उनका आफन्त सहित शंकाष्पद १५ जना जतिको स्वाब संकलन गरेर परीक्षणका लागि पठाईने प्रजिअ जिसीले बताए । ‘बागमतीका संक्रमित पुरुष काठमाडौंमै हुनुहुन्छ’, प्रजिअ जिसीले मंगलबार राती भने, ‘अहिले भर्खर संक्रमित पूरुषको परिवार सहित स्थानीय कन्ट्याक्ट ट्रेसिङ बुझेर त्यहाँबाट फर्किएका छौं, आज रातभर सबैलाई घरबाट बाहिर ननिस्कन आग्रह गर्दै सुरक्षाकर्मी खटाएका छौं, भोली १५ जना जतिको स्वाब संकलन गर्ने र सबैलाई क्वारेन्टिनमा राख्ने तयारी गरेका छौं ।’
स्थानीयका अनुसार शिक्षक रहेका उनी मुटु रोगकी बिरामी काकीलाई उपचारका लागि काठमाडौं गएका थिए । बहिनीको कोठामा जाँदा सर्लाहीबाट आएको भनेपछि घरबेटी सहित स्थानीयले ती संक्रमित पुरुषलाई नियन्त्रणमा लिएर प्रहरी समक्ष बुझाएको बताईएको छ । प्रहरीले नियन्त्रणमा लिएपछि टेकु अस्पताल स्थित क्वारेन्टिनमा राखेर स्वाब परीक्षण गराउँदा उनमा कोरोना भाईरस पोजेटिभ देखिएको हो । ती संक्रमितको घर शंकरपुरको सोल्टी बजारदेखि पूर्वको गाउँमा रहेको बताईएको छ ।
यो सँगै सर्लाही निवासी र बाहिर घर भएपनि सर्लाहीमा बस्दै आएका ५ जनालाई कोरोना भाईरस पोजेटिभ देखिएको छ । यसअघि भारतबाट आएका सर्लाहीको धन्कौलका निवासी १४ बर्षका बालक, हरिपुर्वा नगरपालिकाका मानसिक सन्तुलन गुमायका ४५ बर्षका पुरुष र रामनगर गाउँपालिका स्थायी घर भइ काठमाडौं बस्दै आएकी र सर्लाहीबाट बैशाख २२ गतेमात्र काठमाडौं पुगेकी १८ बर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।