को बन्ला विकास बोर्डको अध्यक्ष ?

काठमाडौं । चलचित्र क्षेत्रको सर्वाेच्च संस्था चलचित्र विकास बोर्डको अध्यक्ष पदको लागि १० जनाले आवेदन दिएका छन् ।

 सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केही समय अगाडि एक सूचना प्रकाशन गर्दै बोर्ड अध्यक्षका लागि आवेदन माग गरेको थियो ।

सूचना अनुसार गत मंगलबार आवेदन दिने अन्तिम मिति थियो । उक्त मितिसँग भगवती कुमारी मैनाली, अभिनेता भुवन केसी, राजेश थापा, अर्जुन कुमार डंगोल, दयाराम दाहाल, ध्यान बहादुर राई, परशुराम चौधरी, सोहित मानन्धर, राजेन्द्रकुमार उप्रेती र दिपक श्रेष्ठले अध्यक्ष पदका लागि आवेदन दर्ता गराएका छन् । 

व्यवसायिक कार्ययोजना, कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ताको आधारमा अध्यक्ष चयन गरिने बताइए पनि राजनीतिक चलखेलमा नियुक्ति हुने गरेको छ । 

आवेदन दिने अधिकांश उमेद्वारहरु आफू अध्यक्ष हुनका लागि अहिले विभिन्न शक्ति केन्द्र धाइरहेका छन् । 

आवेदन दिने मध्य यो पटक निर्देशक दयाराम दाहाल अध्यक्षका बलियो दावेदारको रुपमा हेरिएको छ । नेकपाको साँस्कृतिक भातृ संगठन जनपक्षीय चलचित्रकर्मी संघले पनि दाहालको नाम अध्यक्षको लागि सिफारिस गरेको छ । 

दाहाल बाहेक भुवन केसी, सोहित मानन्धर र अर्जुन कुमार पनि अध्यक्षका लागि बलियो दावेदार मानिन्छन् । यी तीनै ब्यक्ति पनि नेकपाका नेताहरुसँग नजिक मानिएका छन् । त्यसैले पनि अध्यक्ष को बन्छ भनेर अहिले नै भन्न सकिने अवस्था रहेको छैन । 

गत मंसिर २९ गते अध्यक्ष केशव भट्टराईको असामयिक निधन भएपछि खाली रहेको उक्त पदले राजनीतिक चलखेलकै कारण समयमै योग्य व्यक्ति पाउन नसकेको हो ।

प्रतिक्रिया