कोरोनाका कारण अमेरिकामै अड्किए गायक हिमाल सागर

काठमाडौं । गायक हिमाल सागर यति बेला अमेरिकामा छन् । २० दिनको संगीतिक कार्यक्रमको सिलसिलामा करिब तीन महिना अगाडि अमेरिका उडेका उनी लकडाउनका कारण उतै रोकिएका हुन् । नेपालको एक युट्युव टिभीसँग कुरा गर्दै उनले आफ्नो नेपाल आउने चाहना रहेको बताएका छन् ।

‘केहि समय मात्रै होला, ठिकै छ नि भन्ने सोचेर यतै बसे । अहिले ७० दिन भैसक्यो’ उनले अगाडि भने ‘अहिले अत्यास लागिसक्यो ।’ हिमाल अमेरिकाको भर्जिनियामा रहेको महेश भट्टको घर बसिरहेका छन् । आफुजस्तै अन्य केही ब्यक्ति पनि अमेरिकामा यस्तै अप्ठ्यारोमा रहेको सागरले खुलाए । आफु र आफु जस्ताको बिषयमा नेपाल सरकारले सोच्नुपर्ने उनले धारणा राखेका छन् । 

२००० डलर बोकेर अमेरिका गएका उनको माग नेपाल फर्किने रहेको छ । २०१५ बाट बेलाबेलामा अमेरिकाको कार्यक्रममा जाने गरेका सागरको अहिलेको यात्रा पाँचौ हो । आफु ग्रीन कार्डको लागि अमेरिका नआएको बताएका सागरले अमेरिकामा बस्दा देश, नेपाली दर्शक र साथीभाई मिस गरेको बताए ।

‘मरे पनि नेपाल मै मरुँ जलाउँदा पनि पशुपतिमै जलुँ भन्ने लागेको छ’ उनले नेपाल फर्कने चाहना गर्दै भनेका छन्– ‘७० दिनमा केही पनि सोच्न सकेको छैन । खुसी हुन धेरै प्रयास गरे पनि सकेको छैन ।’ 

प्रतिक्रिया