छाती दुख्यो : मुटुको समस्या हो कि ग्यास्ट्राइटिस ?

धेरै बिरामी छाती दुख्यो भने मुटुको समस्या हो कि भनेर मुटु रोग विशेषज्ञकहाँ पुग्छन् । केही छातीरोग विशेषज्ञको पनि पुग्छन् । त्यहाँ पुगेर सम्पूर्ण जाँच गर्दा पनि समस्या समाधान नभएपछि अन्तिममा पेट तथा कलेजोरोग विशेषज्ञकहाँ आइपुग्छन् ।

सबै छाती दुखाइ मुटुरोग तथा छातीरोगले मात्र हुँदैन । केही छाती दुखाइ ग्यास्ट्राइटिसको कारणले पनि हुन्छ । त्यसैले यी दुईको लक्षणलाई थाहा पाउन सकियो भने समस्याको समाधान छिटो हुन्छ ।

छाती दुखाइ मुटुकै समस्या हो कि ग्यास्ट्राटिस कसरी छुट्याउने ?

ग्यास्ट्राइटिसको दुखाइ र मुटुको दुखाइ कहिलेकाहीं छुट्याउन गाह्रो हुन्छ । कहिलेकाहीं ईसीजी नगरी केको दुखाइ हो छुट्याउन गाह्रो हुन्छ ।

प्राय: जस्तो मुटुको दुखाइ खप्नै नसक्ने गरी भारी भएर केहीले थिचेको जसरी दुख्छ । यो ठाउँमा दुखेको छ भनेर देखाउन पनि गाह्रो हुन्छ । दुखाइ देब्रे कुम वा हाततिर सरेको छ भने त्यो मुटुको दुखाइ हो । हिंडडुल गर्दा त्यो दुखाइ बढ्छ भने त्यो पनि मुटुको दुखाइ हो ।

छातीको मध्यभाग दुखाइ भन्दा बढी पोल्ने खालको हुन्छ । मुखमा अमिलो पानी आउँछ । घाँटीमा केही अड्केको जस्तो हुन्छ । करङको बीच भागबाट दुखाइ सुरु भएर माथितिर सर्दै आएको छ भने त्यो ग्यास्ट्राइटिसको दुखाइ हो ।

ग्यास्ट्राटिसमा कस्तो अवस्थामा दुखाइ हुन्छ

लामो समयदेखि ग्यास्ट्राइटिसको समस्या भएका व्यक्ति जसले पटक-पटक औषधि पसलबाट ग्यास्ट्राइटिसको औषधि किनेर खान्छन् तर चिकित्सकको सल्लाह लिंदैनन् भने उनीहरूमा माथि उल्लेख गरे जस्तो प्रकारको दुखाइ हुन सक्छ ।

आजभोलि मानिसहरू कामको व्यस्तताको कारण ढिलो घर पुग्छन् र खाना खाएर ओछ्यानमा पल्टिहाल्छन् । खाएको खाना मुख खाद्यनली हुँदै पेट, आन्द्रामा गएर पाचन हुने हो । तर खाना खाने बित्तिकै सुत्दा खाना राम्ररी पच्दैन र ग्यास्ट्राइटिसको समस्या हुन्छ ।

रातको समयमा हाम्रो पाचन प्रणाली बिहान र दिउँसोको तुलनामा अलि कमजोर हुन्छ । यस्तोमा राति ढिलो खाना खाएपछि त्यो खाना राम्ररी पच्दैन र माथितिर नै फर्किन्छ । जसले गर्दा ‘इसोफेगस’ भनिने पेट र घाँटी जोडिने खाद्यनली चहर्‍याउने,  त्यहाँ घाउ हुने तथा त्यसले गर्दा नै दुख्ने हुन्छ ।

बिहानको समयमा खाएको खाना छिटो र राम्ररी पच्छ भने बेलुकाको समयमा खाएको खाना ढिलो पच्छ । जसरी दिनभरिमा हाम्रो शरीर थाक्छ त्यसरी नै पाचन प्रणाली पनि थकित हुन्छ अर्थात् ‘स्लो मेटाबोलिज्म’ (पाचन पनि कमजोर) हुन्छ ।

पेटको खाना राम्ररी पच्न एकदेखि चार घण्टा लाग्छ । खाना पेटबाट आन्द्रामा पुग्ने समय कम्तीमा पनि एक घण्टा हो । त्यसअघि खाना पेटबाट आन्द्रामा खासै जाँदैन । यस्तोमा राति खाना खाने बित्तिकै पल्टिंदा खाना राम्ररी पच्दैन र ग्यास्ट्राइटिसको समस्या निम्तिन्छ ।

जस्तो कहिलेकाहीं पेटको अम्ल बढाउने (अमिलो वा निकै चिल्लो) खानेकुरा खाएको बेला, कहिले खाना खाएलगत्तै सुतेको अवस्थामा अम्ल बढ्ने वा घाँटीतिर अमिलो पानी हुलुक्क आउने हुनसक्छ । यतिबेला पेटको अम्लयुक्त खाना मध्य छाती वा घाँटीसम्म आइपुग्छ । यस्तो अवस्थालाई रिफ्लक्स (ग्यास्ट्रिक एसोफेगल रिफ्लक्स डिजिज) भनिन्छ ।

ग्यास्ट्राइटिसमा हुने दुखाइ खानासँग परिवर्तन हुन्छ । खाना खाने बित्तिकै पेटमा अम्ल निस्कन्छ, त्यसले दुखाइ झन् बढ्ने हुन्छ । खाना नखाएको बेला दुखाइ कम भएको जस्तो हुन्छ । अर्कोतिर प्यान्क्रियाजबाट खाना पचाउने इन्जाइम (पाचनरस) निस्कन्छ । त्यसले अम्ललाई सामान्य बनाउँछ र खाना खाएपछि दुखाइ कम भएको जस्तो हुन्छ ।

कुनै पनि खानेकुरा रातको समयमा धेरै मात्रामा खाइन्छ भने त्यसले पाचन प्रणालीलाई कमजोर बनाउँछ । त्यसैले पहिले सूर्यास्तपछि खानु हुँदैन भन्ने थियो । सूर्यास्तपछिको खाना विष समान हुन्छ भन्ने गरिन्थ्यो । अहिलेको ‘इन्टरमिटेन्ट फास्टिङ’ पनि यही कुराबाट आधारित छ ।

राति अबेरसम्म काम गर्ने व्यक्तिले चिया, बिस्कुट, चाउचाउ चिप्स खाने गर्छन् । यस्ता खानेकुरा यसै पनि पाचन प्रणालीको लागि राम्रो होइन, झन् रातको समयमा खाँदा त्यसले अझै बढी नकारात्मक असर गर्छ ।

दुखाइ कम गर्न के गर्ने ?

लामो समय खाली पेट बस्दा वा एकै पटक धेरै खाना खाँदा पनि समस्या हुन्छ । त्यसैले थोरैथोरै पटक-पटक खानुपर्छ । जसले गर्दा पाचन प्रणाली राम्रो हुन्छ र ग्यास्ट्राइटिसको समस्या निम्तिंदैन ।

लामो समयसम्म खानाको सन्तुलन नमिल्दा पनि ग्यास्ट्राइटिसको समस्या निम्तिन्छ । हाम्रो शरीर विकास हुँदै गर्दा हाम्रो शरीरका अंगहरु पनि विकास हुन्छ । ४० वर्षको उमेरमा २० वर्षको उमेरमा जत्तिकै  खानेकुरा पचाउन सकिंदैन । त्यसैले बढ्दो उमेरसँगै खानाको मात्रा घटाउने तर बारम्बार खाने गर्नुपर्छ ।

ग्यास्ट्राइटिस तथा मुटुको समस्याबाट बच्न धेरै मसालेदार खानेकुरा र प्याकेटबन्द खानेकुरा, जंकफुड खानु हुँदैन । अनावश्यक रूपमा ब्रुफेन, फ्लेक्सन जस्ता दुखाइ कम गर्ने औषधि नखाने,  प्रशस्त मात्रामा पानी पिउने, तनाव कम लिने गर्नुपर्छ ।

रातिको खाना सकेसम्म ७ बजेभन्दा अघि नै खाने, ढिलो हुन्छ भने पनि खाना खाएको एक घण्टासम्म ओछ्यानमा नपल्टिने, खाना खानेबित्तिकै हिड्नु पनि राम्रो होइन । खाना खाएपछि परिवारका सदस्यहरूसँग गफ गरेर बस्न सकिन्छ ।

आजभोलि हामी पाँच मिनेटको बाटोमा पनि गाडी चढ्छौं, हिंड्न रुचाउँदैनौं । जसले गर्दा पाचन प्रणाली बिग्रिन्छ र ग्यास्ट्राइटिसको समस्या निम्तिन्छ । ग्यास्ट्राइटिस, मोटोपनलगायत अन्य समस्याबाट बच्न दैनिक आधाघण्टा देखि ४५ मिनेट हिंडडुल वा व्यायाम गर्ने गर्नुपर्छ ।

अनलाइनखबर

प्रतिक्रिया