भोली हरिवनमा उखुको लाक्रासहित प्रदर्शन गरिने

हरिवन – सर्लाहीका उखु किसानले आज (शुक्रबार) हरिवनमा बृहत भेला गरेका छन् । उखुको मूल्य तत्काल तोक्न र गत वर्षको बाँकी बक्यौता रकम भुक्तानी गर्न माग गर्दै कडा आन्दोलनको तयारीमा रहेका यहाँका उखु किसानले आन्दोलनको तयारी स्वरुप नै हरिवनमा बृहत भेला सम्पन्न गरेका हुन् । किसानले यो वर्ष उखुको मूल्य प्रतिक्विन्टल ७५० रुपियाँ कायम गर्न माग गरेका छन् ।

त्यस्तै, गत वर्ष सरकारले दिनुपर्ने ७० रुपियाँमध्ये अहिलेसम्म २१ रुपियाँ मात्रै प्राप्त भएको र बाँकी ४९ रुपियाँ यथाशीघ्र भुक्तानी गर्न माग गर्दै आन्दोलन थालेका हुन् । आन्दोलन अन्तर्गत भोली मध्यान्ह १२ बजे हरिवनमा उखुको लाक्रासहित पूर्व–पश्चिम राजमार्गमा प्रदर्शन गर्न लागिएको मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीले जानकारी दिए ।

आज किसानलाई भेला पारेर आन्दोलनको औचित्य प्रष्ट पार्दै आगामी दिनमा के–कसरी अगाडि बढ्ने ? भनी छलफल गरिएको उप्रेतीले बताए । भोलीको प्रदर्शन र नाराजुलुसपछि पुनः बैठक गरेर आन्दोलनको थप कार्यक्रम तय गर्ने उखु किसानका नेताले बताएका छन् ।

भोली हरिवनस्थित कृष्ण चोकमा भेला भएर इन्दुशंकर चिनी उद्योगसम्म लाक्रा जुलुस निकालेर पुनः हरिवन बजारमा पुगेर कोण सभा गरिने छ । भोली नै सर्वदलिय संघर्ष समिति समेत बनाइने नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए ।

धमाधम उखु काटेर बेच्नुपर्ने बेला सरकारले उखुको मूल्य नतोक्दा किसान निराश बनेका छन् । मूल्य नतोकी मिल नचलाउन किसानले आग्रह गरेपछि देशकै सबैभन्दा ठूला दुई चिनी उद्योग इन्दुशंकर चिनी उद्योग हरिवन र एभरेष्ट चिनी मिल रामनगर महोत्तरीले उखु क्रसिङ सुरु गर्न पाएका छैनन् । मंसिर २५ गते कृषि मन्त्रालयमा भएको वार्तामा सरकारले उखुको मूल्य ५६५ प्रस्ताव गरेपनि किसानले अस्वीकार गरेका छन् । चिनीको बढ्दो मूल्य र उखु उत्पादन लागतलाई आधार मानेर यो वर्ष उखुको मूल्य प्रतिक्विन्टल ७५० रुपियाँ पाउनुपर्ने किसानको माग छ ।गएको वर्ष सरकारी अनुदानसहित उखुको मूल्य ६१० रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया