बन्दूक बिसाएर बाँसुरी बजाउने पूर्वछापामार

काठमाडौं ।  कुरा ०५९ सालको हो । जतिबेला माओवादी द्वन्द्वकाल उत्कर्षमा थियो, सुर्खेत गुटुका रत्न बिक १२ वर्षका थिए । दुबै बाबु-आमा गुमाएका उनी एक टुहुरा । दुई दाइ थिए । तर, पारिवारिक अवस्था निकै नजुक भएकाले रोजगारीका लागि दुबै भारत पुगेका थिए । परिवारमा उनी एक्लै । द्वन्द्वकाल चर्किरहेको उक्त समयमा विद्यालयमा पढ्ने रत्नका एक साथीको सैनिक कारवाहीमा मृत्यु भयो । विद्यालयमा आएर खाना बनाइरहेको माओवादीलाई लखेट्दा ती साथी मारिएका थिए । यो कुराले रत्नको मनमा सेना शब्दसँगै डर पलायो । यस्तैमा, रत्नका छिमेकी दाइ सुरेन्द्र देवकोटाले माओवादीमा लाग्न आग्रह गरे । त्यहाँ सुरक्षा हुन्छ र कलाकारिता पनि गर्न सकिन्छ भन्ने आश्वासन उनले दिए । साथीको हत्याबाट आत्तिएका रत्न माओवादीमा लाग्न तयार भए । सानै उमेरदेखि बाँसुरी बजाउन रुचाउने रत्नले माओवादीमा जाँदा पनि च्यातिएको पाइन्टको पछाडी बाँसुरी च्यापेर लगेका थिए । बेला-बेला बाँसुरी फुकिरहन्थे । तर, बिडम्बना, १२ वर्षको कलिलो उमेरमा कापी र कलमको साटो उनले बन्दुक समाए । जुन उमेरमा गुच्चा खेल्नु पर्ने थियो त्यो समय उनी बारुद र गोलीसँग खेल्न सुरु गरे । उनलाई थाहा थिएन, ‘कहाँ त्यो गोली चलाउन चुक हुने हो र आˆनो ज्यानै जाने हो । कलाकार बन्ने लोभमा त्यहाँ पुगेका रत्नलाई माओवादीले एरिया कलाकार पनि बनाइदियो । जब दिनभर हिँडेर गलिन्छ, बास बस्दा एरिया कलाकारको टोलीले सांगीतिक प्रस्तुति दिनुपथ्र्यो । त्यहाँ रत्न वाँसुरी फुक्ने मात्र होइन, बाध्यबाधनका जुनसुकै विधामा अगाडि थिए । नाच्न पनि खुबै सोख राख्थे । थाकेको टोलीलाई सांगीतिक प्रस्तुतीमार्फत मनोरञ्जन दिँदा उनी निकै खुसी हुन्थे । रत्न सम्झिन्छन्, ‘आहा ! सबै थाकेका हुन्थे । आफू गाउने र नाच्ने गरिन्थ्यो । हाम्रो प्रस्तुतीमा टोली झुमिरहेको हुन्थ्यो । त्यो बेला साह्रै आनन्द आउने ।’

जनयुद्धमा हिँड्दाको दुःख

त्यो समय टोलीबाट कोही साथी बजार गएको छ भने फर्केर आउने वा नआउनेमा शंका नै हुन्थ्यो । रत्न सम्झिन्छन्, ‘जाने बेला हात मिलाउने हो । त्यो आउने हो वा हैन थाहा हुन्न । आर्मीले भेट्यो भने त मारिहाल्थे ।’ रत्नले बजार गएका कति साथी गुमाएका छन् । कहिलेकाहीँ उनकै अगाडि बम पडि्कएका छन् । कति साथीहरु आँखै अगाडि मरेका छन् ।

‘धेरै ठाउँमा भाग्यले बचाएको छ मलाई त । छेवैमा साथी मर्थे । डरले मुटुमा भूकम्प ल्याइदिन्थ्यो ।’

रत्नले जनयुद्धमा हिँड्दा धेरै दुःख पाएका छन् । लगातार ३६ घण्टा हिँड्नु त सामान्य जस्तै थियो । तर, हिँड्दा खान नपाइने । उनी सम्भिmन्छन्, ‘एक दिन भोकले म ढल्नै लागेको थिएँ । बाटोमा पानीघट्ट रहेछ । त्यहाँ गएर गहुँ र मकैको पिठोमा पानी मिसाएर पेट भरेँ ।’

माओवादीमा लाग्दा च्यातिएको पाइन्ट पछाडि एउटा बाँसुरी चेपेर हिँडेका रत्न अहिले साथमा २५-३० वटा बाँसुरी बोकेर हिँड्छन् । पूर्वछापामार रत्न भन्छन्- ‘बाँसुरी नै मेरो सारथी हो, योविना त मेरो परिचय नै नहोला ।’
०५९ सालबाट माओवादीमा लागेका रत्नले ५ वर्ष भूमिगत जीवन बिताए । ०६२ सालमा शान्तिवार्ता भएपछि पनि रत्न ०६४ सालसम्म उनी माओवादीमै थिए । त्यहीँ संगठनमा रहेर काम गरे । तर, ६४ सालको अन्त्यमा आएर उमेर नपुगेकाहरुलाई अयोग्य लडाकु करार दिएर घर फर्काइयो । त्यसपछि रत्नलाई समस्या पर्‍यो ।

‘अरु साथीहरु त घरु फर्किनुभयो । तर, म कहाँ फर्किने ? घर जाउँ, आमा बुबा हुनुहुन्न । घर गएर गर्ने पनि के ? पढ्ने उमेर पनि गइसकेको थियो ।’ उनी भन्छन् ।

मन खल्लो बनाउँदै रत्न घर फर्किए । सुर्खेतमा कहिलेकाहीँ सांस्कृतिक कार्यक्रमहरु हुन्थ्यो । चिनजानका नृत्य निर्देशक दाई कुलमान नेपालीले रत्नलाई कार्यक्रममा बाँसुरी फुक्न बोलाउन थाले । दुई वर्ष उनले गाउँमा नै बिताए । त्यहीँ समयमा रत्नले धेरै कलाकारहरुसँग चिनजान गर्ने मौका पाए । त्यस्तैमा उनको भेट सुर्खेतका देवराज गिरीसँग भयो । देवराज मादल बजाउथे । उनको नजरमा परे, रत्न ।

देवराजले देखाए बाटो

देवराज गिरीले रत्नलाई एक दिन घरमा नै भेट्न बोलाए । भेटमा उनले रत्नलाई काठमाडौं जाने प्रस्ताव राखे ।

रत्न भन्छन्, ‘देवराज दाइले काठमाडौं हिँड, म तिमीलाई एक महिना घुमाएर पठाउछु भन्नुभयो । केही काम पाए गर्ने, नत्र फर्किने सोच बनाएर काठमाडौं आएँ ।’

तर, देवराजले काठमाडौंमा सबै बन्दोबस्त मिलाइसकेका रहेछन् । बानेश्वरको पवनकली दोहोरी साँझमा बासुरी बजाउनम काममा लगाइदिए । काठमाडौं आएको दोस्रो दिनदेखि नै उनले काम थालिहाले । उनले त्यहाँ रहेर ६ वर्षभन्दा बढी काम गरे ।

रत्न देवराजलाई आफ्नो गडफादर मान्छन् । उनी भन्छन्, ‘यदी उहाँले नल्याउनुभएको भए यो समय म भारतको कुनै गल्लीमा गिट्टी कुटिरहेको हुन्थेँ होला ।’

काठमाडौं आएको ५-६ महिनापछि देवराजले उनको भेट कृष्ण कणेलसँग गराइदिए । त्यो भेट रत्नको लागि सफलताको अर्को खुडि्कलो बनिदियो । कृष्णको टिममा रत्न पनि सामेल भएर माउन्टेन टेलिभिजनमा ‘लोक भाका’ नामक कार्यक्रम सुरु गरे ।

रत्न भन्छन्, ‘कृष्ण दाईले मलाई धेरै कुराहरू सहयोग गर्नुभएको छ । मैले केही गल्ती गर्दाे उहाँले मलाई गाली गरेर सुधार्नु हुन्थ्यो ।’ पछि रत्नले कृष्णसँग मिलेर इन्द्रेनी नामक कार्यक्रममा पनि काम गरे ।

अहिलेको व्यस्तता

देवराजमार्फत नै रत्नले पुष्कर सुनुवारलाई स्टुडियोमा बाँसुरी बजाउने अवसर दिएका थिए । उक्त कुरालाई रत्न बिर्सिँदैनन् ।

काठमाडौं आएको २ सातादेखि नै रत्न शास्त्रीय संगीत सिकिरहेका थिए । उनका गुरु थिए, जीवन आले । सिक्दै गर्दा नै बिबि अनुरागीसँग चिनजान भयो उनको । त्यसपछि रत्नले प्रिज्मा रेकर्डिङ स्टुडियोमा नियमित रुपमा बाँसुरी बजाउने मौका पाइरहे । सुरुवाती दिनमा भने उनी भजनमा मात्र बाँसुरी बजाउने गर्थे ।

जब, रत्नले बाँसुरी भरेको पशुपति शर्माको ‘मलाई अमेरिका यहीँ’ भन्ने गीत हिट भयो, त्यसपछि उनको भाग्य खुल्यो । उनी भन्छन्, ‘मेरो पहिलो हिट गीत थियो त्यो । त्यसपछि त म कहिल्यै खाली हात बस्नुपरेको छैन ।’

रत्नले दिनमा ३२ वटा गीतसम्ममा बाँसुरी बजाएका छन् । उनी भन्छन्, ‘आजसम्म ८ हजार बढी भए होलान् मैले बाँसुरी बजाएका गीतहरु ।’ उनका गीतहरुमा ‘तिहुन मीठो बनायो चुकैले’, ‘पान खायो मायाले’, ‘जाम सुस्तै’, ‘ढल्के बर’ लगायत सर्वाधिक हिट छन् । रत्नले चलचित्रका गीतहरुमा पनि बाँसुरी बजाएका छन् । उनले ‘क्याप्टेन’ को ‘कर्ली कर्ली’, ‘नाई नभन्नु ल ५’ को टाइटिल गीत लगायत धेरै चलचित्रका गीतमा बाँसुरी बजाएका छन् ।

‘अभ्यास नगरी खाना रूच्दैन’

रत्नको बिहानी प्रहर बाँसुरीको धुनसँगै सुरुवात हुन्छ । बाँसुरी नबजाए त उनलाई खाना खाना पनि रुच्दैन ।

उनी भन्छन्, ‘मेरो अभ्यास गर्ने कोठा छुट्टै छ । त्यहाँ म बिहानको २-३ घण्टा अभ्यास गर्ने गर्छु ।’ उनले दिनमा ८ घण्टासम्म लगातार अभ्यास गरेका छन् ।

व्यवसायिक रुपमा बाँसुरी बजाउन सुरु गरेपछि विगत ३ वर्षदेखि उनी गोपाल देव गुरुसँग संगीत सिकिरहेका छन् । उनी भन्छन्, ‘म व्यवसायिक भएपछि नै सिक्न सुरु गरेको हुँ । मैले सिक्नु पर्ने धेरै छ भन्ने बुझ्दै गएको छु ।’

रत्न आफू यो स्थानमा आइपुग्नुमा परिवारको साथ र दिवंगत आमाबाबुको आशिर्वादलाई कारक मान्छन् ।

‘आमालाई मेरो निकै चिन्ता थियो । त्यसैले पनि उहाँले दिनुभएको आशिर्वादले म सफल भएको छु’, रत्न भन्छन्, ‘अनि मेरी श्रीमतीको साथ र सहयोगले पनि यो स्थान चुम्न सहज भएको छ ।’

माओवादी संगठनमा जाँदा च्यातिएको पाइन्ट पछाडि एउटा बाँसुरी चेपेर हिँडेका रत्न अहिले आˆनो साथमा २५-३० वटा बाँसुरी बोकेर हिँड्छन् । ‘बाँसुरी नै मेरो सारथी हो । यो विना त मेरो परिचय नै नहोला ।’ उनी भन्छन् ।

प्रतिक्रिया